चीनलाई उपहार दिएका सबै गैंडा स्वस्थ, पार्कमा राखियो

 

चितवन, २७ कात्तिक। नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ ।
भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो ।

‘नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार तोकिएको स्थानमा राखिएको जानकारी चीनले दिएको छ,’ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने ।

त्यसअघि ती गैंडाहरुलाई ४५ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो ।

गत असार २८ गते एक सिंगे गैंडाको जोडी भद्र र रुपसी चीनलाई हस्तान्तरण गरिएको थियो । गैंडाको अर्को जोडी सोल्टी र मितिनीलाई साउन ३२ गते चीनलाई हस्तान्तरण गरिएको थियो । दुवै जोडी गैंडालाई हवाईजहाजमा राखेर चीन लगिएको थियो ।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । अनलाइनखबरबाट