चितवनमा केराको जोन क्षेत्र निर्धारण

 

चितवन, २६  कात्तिक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई केरा जोन चितवनले केराको जोन क्षेत्र निर्धारण गरेको छ । खैरहनी नगरपालिका, रत्ननगरपालिका, कालिका नगरपालिकाका एक देखि ८ वडाहरु र भरतपुर महानगरपालिककाको वडा नम्बर एकलाई केराको जोन क्षेत्र निर्धारण गरिएको हो ।

चितवनमा हाल भैरहेको केरा खेतीको अवस्था, माटो तथा वातावरणीय अनुकूलता र आगामी दिनमा विस्तार गर्न सकिने क्षेत्रलाई आधार मानेर जोन क्षेत्र निर्धारण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई केरा जोन चितवनले जानकारी दिएको छ ।

केरा बालीमा व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन)ले केराको व्यावसायीकरण, आधुनिकीकरण औद्योगिकीकरण तथा यान्त्रीकरण गर्ने उद्देश्यले चितवनमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

उन्नत प्रविधिको अवलम्वनमा जोड, यान्त्रिकरण, टिस्यू कल्चरबाट केराको उन्नत विरुवा उत्पादन र वितरण, केराको पोष्टहर्भेष्ट प्रविधी मार्फत गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्नका लागि परियोजना सञ्चालन ल्याईएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानाकारी दिनुभयो ।

यस परियोजनामा कार्य क्षेत्रभित्रका साना ठुला सवै किसानहरु आवद्ध हुन सक्नेछन् । आगामी वर्ष देखि प्रतिफलमा आधारित अनुदानका कार्यक्रम परियोजनाले सञ्चालन गर्ने परियोजनाका कृषि अधिकृत ढुंगानाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षबाट सञ्चालन भएको केरा जोन परियोजना चितवनामा आगामी आठ वर्ष सम्म सञ्चालन हुनेछ । परियोजनाले बिरुवामा ५० प्रतिशत, यन्त्रिकरणमा ५० प्रतिशत, साना सिँचाईमा ८५ प्रतिशत, पोष्ट पोष्टहर्भेष्टमा ८५ प्रतिशत अनुदान र प्राविधिकमा निशुल्क सेवा दिने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा केरा किसानहरु सुचिकृत गर्ने र किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोगमा प्राथमिकता दिने केरा जोन कार्यालयले बताएको छ ।

केरा उत्पादनका लागि अन्य जिल्लामा भन्दा चितवनमा वातावरणीय अनुकुलता भएकाले नेपाल सरकारले केरा जोन कार्याक्रम ल्याएको हो ।