माडीमा दुई दिनसम्म ‘बेटर युथ क्याम्प’ हुने

चितवन, २५ कार्तिक । ‘माडी र भरतपुर बीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मूख्य नारा सहित बेटर चितवन अभियानले ‘बेटर युथ क्याम्प–२०७५’ संचालन गर्ने भएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज चितवनको मूख्य प्रायोजन रहेको कार्यक्रम एक वर्ष सम्म निरन्तर माडीका युवाहरूलाई लक्षित गरी विविध कार्यक्रमहरूको हुने छन् ।

यस अवधिमा नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक दायित्व, उद्यमशीलता र स्थानीय तथा प्रादेशिक स्तरमा युवाको अधिकार र कर्तव्य जस्ता महत्वपुर्ण विषयमा छलफल तथा अन्तरक्रिया हुने बेटर युथ क्याम्पका संयोजक तथा बेटर चितवनका अभियन्ता सुबास सापकोटाले बताए । यो कार्यक्रम तेस्रो संस्करण हो ।

पहिलो कार्यक्रम कार्तिक २६ र २७ गते दुईदिन सम्म माडी नगरपालिका–८, शिवद्वार स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा संचालन हुने क्याम्पले माडी र भरतपुर बीचको दुरीलाई कसरी कम गर्ने साथै माडी क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रमा विकास ल्याउन के गर्नुपर्छ भन्ने विषयमा छलफल चल्ने छ । सो छलफलबाट निश्कने निश्कर्षलाई प्रस्तावका रुपमा माडी नगरपालिकालाई बुझाउने कार्यक्रम समेत रहेको संयोजक सापकोटाले बताए । यस कार्यक्रमको सहयोगी संस्थाको रुपमा सम्पूर्ण किताब नारायणगढ रहेको छ ।

करिब तीन वर्षदेखि चितवनमा युवा, शिक्षा, स्वास्थ्य, संस्कृती, वातावरण, प्रविधी र अर्थव्यवस्था गरी सात क्षेत्रमा काम गर्दै आईरहेको बेटर चितवन अभियानको तेश्रो वार्षिक उत्सव पनि नाोभेम्बर अर्थात क्याम्पको तेश्रो दिन कार्तिक २७ गते मनाउने कार्यक्रम रहेको बेटर चितवन अभियानका संस्थापक संयोजक सागर कार्कीले बताए ।