घरबासबाट पर्यटन प्रर्वद्धनमा युवा

 

– ध्रुवसागर शर्मा 

गलेश्वर २५ कात्तिक  । विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रर्वद्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले साढे दुई वर्षअघि आग्र्यानिक कृषि उपजहरूको उत्पादन गरी आफँै कटेज सञ्चालन गरी पर्यटन प्रवद्र्धनको अभियान शुरु गर्नुभएको हो । उहाँले सञ्चालन गर्नुभएको के डी कटेज आग्र्यानिक खानेकुरा र ग्रामीण जीवन पद्धतिको नमूना बनेको छ ।

शर्माले सिमलचौरको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय शुरु गरेको बताउनुभयो । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने गरेका शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको जानकारी दिनुभयो ।

कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उहाँको भनाइ छ । शुरुमा रु १५ लाख लगानीबाट स्थापना भएको कटेजमा अहिले रु ५० लाख लगानी पुगेको सञ्चालक शर्मा बताउनुहुन्छ । शर्माले कटेजकै छेउछाउमा तीन पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । पाहुनालाई अग्र्यानिक परिकार खुवाउने उद्देश्यसहित उहाँले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गर्नुभएको छ ।

होमस्टे (घरबास)मा आधारित शर्माको कटेजमा एक रातमा १० जनासम्म बस्न सकिन्छ भने कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ । विशेषगरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको शर्माको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहनाअनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको सञ्चालक शर्मा बताउनुहुन्छ ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले घरबास सञ्चालन गरेको बताउनुभयो । उहाँको कटेजमा जेठोबुढो र गौरिया धानको लोकल चामलको भातसहित फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन पाउनुका साथै स्थानीय परिकारहरु खान पाइन्छ ।

प्रायः एक पटक आउने ग्राहकहरु पटक– पटक पनि आउने गरेको सञ्चालक शर्माले बताउनुभयो । कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उहाँको अनुभव छ ।

शर्माले कटेजमा पाँच जनालाई रोजगारी दिनुभएको छ । उहाँले कटेजमार्फत मासिक रु तीन लाखदेखि पाँच लाखसम्म कमाई हुने हुँदा महीनामा रु एक लाखभन्दा बढी बचत गर्ने गरेको जानकारी दिनुभयो । आगामी दिनमा कटेजका साथै सेवासुविधाको पनि विस्तार गर्ने लक्ष्य उहाँको छ । घरबास सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटक आकर्षण बढाउन सकिने शर्माको अनुभव रहेको छ ।

लोप हुँदै परम्परागत घुमाउने घर 

म्याग्दीका ग्रामीण भेगका बासिन्दाले परम्परागतरुपमा बनाएका खरले छाएका घुमाउने घर विस्तारै लोप हुँदै गएका छन् । घुमाउने घरभित्र अँध्यारा, धेरै कोठा नहुने र छानो छाउन वर्षैपिच्छे झण्झट हुने भएकाले घुमाउने घरप्रतिको आकर्षण घट्दै गएको हो ।

त्यसो त ग्रामीण क्षेत्रमासमेत आधुनिक सुविधासम्पन्न घर बनाउने चलन बढेकाले परम्परागत घर लोप हुँदै गएको बताइन्छ । केही वर्षअघिसम्म म्याग्दीका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध देखिन्छ । हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका छन् ।

केही वर्षअघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको छ भन्नुहुन्छ बेनी नगरपालिका–२ ज्यामरुककोटका ७४ वर्षीय रणबहादुर कार्की । “१०० वर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा छैनन् जीर्ण भइसकेका छन”, उहाँ भन्नुहुन्छ ।

मानिस उज्यालो, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोप हुँदै गएको बेनपा–६ का बालकृष्ण सुवेदीले बताउनुभयो । जस्तापाताको व्यापक प्रयोग, सुलभ रूपमा पाइने र एक पटक छाएपछि बीसौँ वर्ष रहने हुनाले पुराना घर उपयोगविहीन हुन थालेको उहाँले बताउनुभयो ।

डेढ दशकअघिसम्म म्याग्दीका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औलामा गन्न सकिने छन्, स्थानीय धनबहादुर श्रीषले भन्नुभयो । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ ।