कृषिका विद्यार्थीहरुद्वारा सामुहिक फूल खेती

बद्रि अर्याल
चितवन, २१ कात्तिक । पूजाआजा, विवाह, व्रतबन्धलगायतका शुभकार्यमा होस् वा धार्मिक नै किन होस् हरेक ठाउँमा फूलको विशेष महत्व रहेको छ । नेपालमा वर्सेनि फूलको माग बढ्दै गइरहेको छ । फूलको माग बढ्दै गएपछि किसानहरुले समेत सामुहिक रुपमा व्यावसायिक फूल खेतीलाई जोड दिइरहेका छन् ।
फूल खेतीतर्फ युवाहरुको समेत आकर्षण बढ्दै गएको छ । कृषि विश्वविद्यालयका विद्यार्थीहरु समेत फूलखेती तर्फ आकर्षित भएका छन् । विद्यार्थीहरुले समूहमा मिलेर भरतपुर महानगरपालिका वडा नम्बर २०, दद्रेहनीमा पाँच कठ्ठा जमिनमा फूल खेती गरेका छन् ।
उनीहरुले सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर) संस्थाको नामबाट यसै वर्षदेखि सयपत्री फूलको खेती सुरु गरेका हुन् । फूल खेती बिक्रीयोग्य भएकाले यतिबेला उनीहरुलाई फूल टिपेर बिक्री गर्नका लागि भ्याइनभ्याइ भइरहेको केयरका प्रबन्ध निर्देशक तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी भूवन पौडेलले बताए । उनीहरुले उत्पादन गरेको सयपत्री फूलबाट बनाइएको प्रति माला ६० देखि ८० रुपैयाँमा बिक्री भइरहेको पौडेलको भनाइ छ ।
पाँच कठ्ठा जमिनमा चार हजार विरुवा रोपिएको उल्लेख गर्दै पौडेलले साउनमा लगाएको सयपत्री फूलले अहिले उत्पादन दिन सुरु गरेको बताए । पौडेल सहित सोही क्याम्पसमा अध्ययनरत अन्य सात जना विद्यार्थीहरुले सामुहिक फूल खेती सुरु गरेका थिए । फूल खेतीका संयोजक विभोर गौलीले फूलखेती गर्दा ४० हजार रुपैयाँ लगानी भएको भएपनि दुई लाख रुपैयाँ भन्दा बढीको फूल बिक्री गर्ने लक्ष्य रहेको बताए ।
स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा गरिएको फूल खेतीबाट कृषि शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने गौलीको भनाइ छ । नेपालमा नै बसेर उद्यमी बन्दै उद्यमशीलताको विकासमा युवाहरुलाई अगाडि बढाउनका लागि समेत आफूहरुले फूल खेती सुरु गरेको गौलीको भनाइ छ ।