सबै मिलेर सुरक्षित चितवन बनाउनुपर्नेमा जोड

चितवन, २० कात्तिक । नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनका भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकामा गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले देशभरी सुरु गरिएको कार्यक्रमलाई सफल बनाउन नेपाल प्रहरीसँग सहकार्य गर्ने जनाएका हुन् । स्थानीय तह, समुदाय, सामुदायिक संस्था र विद्यालयको समन्वयमा शान्तिसुरक्षा, समृद्धि र स्थायित्व कायम राखिने प्रहरीको योजना छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नारा सहित सुरु गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम शान्ति सुरक्षा, अमनचयन कायम राख्न महत्वपुर्ण हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।
प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी अभियान सञ्चालन गर्न जिल्ला संयोजकमा प्रमुख जिल्ला अधिकारी रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहनेछन् । जिल्लामा समुदाय प्रहरी जिल्ला समिति, समुदाय प्रहरी पालिका समिति, समुदाय प्रहरी वडा समिति, समुदाय प्रहरी टोल समिति र प्रहरी विद्यालय सम्पर्क समिति गठन हुनेछ ।
कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि विभिन्न १२ वटा प्राथमिकता क्षेत्र छुट्याइएकोमा विद्यालयका लागि १० प्राथमिकता क्षेत्र तोकिएको छ ।