सामुहिक गाई पूजाको तयारी पूरा

चितवन, २० कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर १ वागीश्वरीमा रहेको वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा हुने सामुहिक गौ पूजनको तयारी पूरा भएको छ ।
बुधबार लक्ष्मी पूजाको दिनमा आयोजना गरिने लक्ष्मी पूजा तथा सामुहिक गाई पूजाको तयारी पूरा भएको आयोजकले जनाएको छ । गाई पूजाको लागि केन्द्रको परिश्रममा सरसफाई एव्म सजावट गरिएको छ । मंगलबार मात्रै सो क्षेत्रमा नेपाली सेनाको कालीबहादुर गण भरतपुर ब्यारेकका कर्मचारीहरुले सरसफाई एवम् सजावट गरेका हुन् ।
यस अगागडि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य संघसंस्थाले सो क्षेत्रको सरसफाई गरेका थिए । बुधबार बिहानदेखि गरिने गाई पूजाको लागि विभिन्न उपसमिसितहरु निर्माण गरिएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका संयोजक टंकनाथ पौडेलले बताए । स्थानीय जातका गाईहरु लोप हुँदै गइरहेको अवस्था र अहिले धेरैको घरमा स्थानीय जातका गाईहरु नभएको अवस्थामा ब्राह्मणद्वारा मन्त्र उच्चारण गराएर सामुहिक गाई पूजाको आयोजना गरिएको पौडेलको भनाइ छ ।
वागीश्वरीमा हुने सामुहिक गौ पूजामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रमुख अतिथिको रुपमा आउँदैछन् । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले २०४९ सालदेखि स्थानीय जातका गाईहरु संरक्षण गर्दै आइरहेको छ । हाल केन्द्रमा एक सय ५० भन्दा बढी स्थानीय जातका गाईहरु रहेका छन् । वागीश्वरीमा बुधबार बिहान सात बजेदेखि हुने सामुहिक गाई पूजामा उपस्थित भएर गाईको पूजा गर्नका लागि गौ संरक्षण केन्द्रले सबैलाई आग्रह गरेको छ ।