पूर्वमन्त्री तथा मानव अधिकारवादी नेता तुलाधरको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं,१९ कात्त्कि । आईतबार ७८ वर्षको उमेरमा निधन भएका पूर्वमन्त्री एंव मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिदैँ छ।

लाजिम्पाटस्थित उनको निवासबाट कमलाक्षी, असन, बांगेमुढा, क्षेत्रपाटी हुँदै शोभाभगवतीसम्म शवयात्रा गर्ने र त्यसपछि दिउँसो शोभाभगवतीको कर्णदीपमा अन्तिम संस्कार गरिनेछ। शवयात्राअघि अन्तिम श्रद्धाञ्जलीका लागि शव निवासमै राखिएको छ।

रगतको नसा बन्द भई छातीमा इन्फेक्सन देखिएका उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा आइतबार मध्याह्न नर्भिक अस्पतालमा निधन भएको थियो। सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।

तुलाधर भाषा आन्दोलनबाट उदाएका नेता थिए। नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए। तर, उनको परिचय त्यतिमा मात्रै सीमित भएन। चिन्नेहरुले उनलाई मानवअधिकारको आन्दोलन, लोकतन्त्रको आन्दोलन, वाम आन्दोलनका नेता भनेर पनि चिन्छन्। अझ जनजाति आन्दोलन लाग्नेहरुका निम्ति उनी प्रेरणादायी व्यक्ति थिए। पछिल्लो समय उनी पहिचानवादी नेताको रुपमा चिनिन्थे।

२०४२ मा तुलाधर तत्कालीन नेकपा ९माले० को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए। त्यस्तै, बहुदल आएपछि पनि दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए।

तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए।

तुलाधरले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका पनि खेलेका थिए।

उनका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन्।