डा.भक्तमान श्रेष्ठलाई क्यान्सर हस्पिटल भरतपुरमा भेट्दा मैले जस्तो देखेँ

मेरी श्रीमती रोहिणी श्रेष्ठलाई ब्रेष्ट क्यान्सर भएको यकीन भए पछि अर्बुदरोग निवारण संस्थाका विशेषज्ञ डा. राजेन्द्र बरालले तीन वटा अस्पताल (१) वहाँ आफै कार्यरत बिएण्डबि हस्पिटल, (२) भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल र, (३) भारत मुम्बै स्थित टाटा मेमोरियल क्यान्सर हस्पिटल मध्ये कुनैमा उपचार गर्न सल्लाह दिनु भयो । हामीले भरतपुर स्थित सरकारी अस्पताल बिपि मेमोरियलमा उपचार गराउने निर्णय गर्‍यौं । डा. बरालले सोही अनुसार त्यहाँ का डा. भक्तमान श्रेष्ठको नाममा रेफर गरेको पर्चा लेखिदिनु भयो र त्यो लिएर बहिनी संध्या श्रेष्ठ सहित हामी तीन जना भरतपुर तर्फ रवाना भयौं ।

यो कुरा हो २०५७ सालको । हामी पुगेको भोली पल्ट मात्र डा. भक्तमान श्रेष्ठको ओपिडी पालो रहेछ । त्यसैले त्यस दिन हामीले हस्पिटल प्रशासनसँग छलफल गरेर विस्तृत जानकारी लिने र हस्पिटलको पूरै चक्कर लगाएर ट्वाइलेटहरु कहाँ कहाँ छन्, कुन वार्ड कहाँ कुन भवनमा छ, क्यान्टिन र डिस्पेन्सरी कहाँ छ, डाक्टर र नर्सको क्वाटर कहाँ छ भन्ने थाहा पाउने अवसर पायौं । काठमाडौंका सरकारी अस्पतालहरुको लथालिंग र फोहरी अवस्था देखेर दिक्क हामी राजधानीवासीले भरतपुर क्यान्सर अस्पतालको सफा, स्वच्छ वातावरण र व्यवस्थित एवं सुन्दर बागबगैंचा देखेर खुसी भयौं । अस्पताल नयाँ भएको र त्यसलाई बनाइदिने चिनिया सरकारका केहि डाक्टर र विशेषज्ञ त्यस बेला पनि कार्यरत रहेकोले मात्र त्यस्तो व्यवस्थित र सफा स्वच्छ भएको हो कि अहिले त्यसको अवस्था त्यस्तै छ थाहा पाउन एक पटक उक्त अस्पताल घुम्न जाने खुबै रहर छ ।

हामीले पहिलो रात भरतपुरका वासिन्दा ज्वाईं दिपक पौडेलको निवासमा बितायौं । वहाँको परिवारले हामी प्रति दर्शाएको माया र आतिथ्य सत्कार हाम्रो लागि सदैव अवस्मरणीय रहने छ । भोली पल्ट बिहान ट्युबवेलको न्यानो पानीले नुहाई धुवाई र नास्ता खानपिन गरी डा. भक्तमान श्रेष्ठको ओपिडी कक्षमा लाइन लाग्न जाँदा त्यहाँ मलिन र ख्याउटे अनुहार भएका सस्तो खालको लुगा लगाएका अलि विपन्न जस्तो देखिने मनिसहरुको भीड देखेर कोही रोगीको मृत्यु भएर आफन्त र छरछिमेकीहरु जम्मा भएका हुन कि भन्ने ठानेको थिएँ तर कुरा त्यस्तो होइन रहेछ । सयौं रोगी र तिनका आफन्तहरु डा. भक्तमान श्रेष्ठबाटै उपचार गराउन बिहान झिसमिसेदेखि नै लाइन लागेर बसेका रहेछन् । त्यसबाट डा. भक्तमान श्रेष्ठ निकै सफल र लोकप्रिय चिकित्सक हुनु हुँदो रहेछ भन्ने थाहा भयो । हामीले पनि उनीबाटै उपचार गराउने सही छनौट गरेकोमा खुसी भयौं ।

घरबाट सँगै आएकी बहिनी संध्या श्रेष्ठ हस्पिटलको प्रारम्भिक काम सकेर आफ्नो गन्तव्य तर्फ लागे पछि बिरामीको हेरचाह गर्न म मात्र बाकी रहें । घरमा साना छोराछोरीलाई वृद्ध आमा र जेठी सासु गीता धौभडेलको जिम्मामा छोडेर आएका थियौं । तर ज्वाईं दिपक पौडेल र हाम्रो पारिवारिक शुभचिन्तक, त्यस बेला चितवन जिल्लामा कार्यरत प्रहरी उपरीक्षक किरण गौतमको साथ र सहयोग पाएकोले मैले एक्लो महसुस गर्नु परेन । हामी भरतपुर पुगेको चौंथो वा पांचौं दिन डा. भक्तमान श्रेष्ठले मेरी श्रीमतीको सफल शल्यक्रिया गर्नु भयो र त्यस दिनबाट विरामीले तिन हप्ता अस्पतालमै बस्नु पर्ने भयो । विरामीलाई खाना ख्वाउन मात्र रोगीलाई भेट गर्न पाइने भएकोले शुरुका केहि दिन यता उता भौंतारिने र टेम्पो चढेर नायणगढ बजार गई विण्डो शपिङ गर्नु र राती पढ्नको लागि ताजा पत्रपत्रिका किनेर फर्कनु मेरो नियमित चर्या जस्तै भयो ।

तर त्यतिले मात्र समय कटाउन मुस्किल थियो । बिरामीको कुरुवा बनेर वार्डको भुईंमा थर्मोकोल चटाई र स्लिपिङ ब्याग बिछ्याएर ३-४ रात अस्पतालमा सुतेको पनि हो । तर निन्द्रामा हुने मेरो घुराईले बिरामीहरु निदाउन नपाएको गुनासो पाए पछि अस्पताल प्रसासनले मलाई त्याहांबाट खेदेर राती बिरामीको कुरुवा बस्न प्रतिबन्ध लगाई दियो । सांझको समय भोजनालयमा आउने अरु बिरामी कुरुवाहरुसँग गफगाफ गरी समय कटाउन थालें । त्यस्तो बेला भेट भएका वयष्क पुरुषहरु बिच भेटघाट गफगाफ मात्र होइन वाटर क्वाटर र सेकुवा पकुवाको व्यवस्था हुनु स्वाभाविकै थियो । त्यस नयाँ मण्डलीका हामीले बिहानको समय नयाँ बिरामी तिनका साथमा आएकाहरुलाई हस्पिटल बारे गाइड गरी सहयोग गर्ने गर्न पनि थाल्यौं ।

त्यसरी अरु मानिसहरुसँग जमघट र गफगाफ हुंदा कोहि काठमाडौंमा उपचार चित्तबुझ्दो हुन नसकेर त्यहाँ आएका, कोही मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालको उपचार खर्च खासै महँगो नभए पनि कुरुवाको चर्को बसाईं खर्च धान्न गाहारो भएर त्यहाँबाट फर्केर भरतपुरमा उपचार गर्न आएकाहरु समेत रहेछन् । अनि उनीहरुकै मुखबाट डा. भक्तमान श्रेष्ठ एकदमै सिद्धहस्त चिकित्सक मात्र होइन, कमजोर आर्थिक अवस्थाका रोगीको उपचार गर्दा हस्पिटलबाट पाउने शुल्क नलिएर खर्च घटाइदिने, कतिपयलाई औषधि किन्न आर्थिक सहयोग समेत गर्दा रहेछन् । त्यसै भएर विपन्न परिवारका विरामीहरु उनीबाटै उपचार गराउन आउंदा रहेछन् र उनको ओपिडी परेको पालो परेको दिन अस्पतालमा घुईंचो लाग्ने कुरा पनि थाहा भयो ।

डा. भक्तमान श्रेष्ठको उच्च चिकित्सकीय निपुणता र विपन्नहरु प्रतिको कोमल मानवीय समवेदनशीलताले उनी प्रति मेरो मनमा उच्च सम्मान र श्रद्धा जाग्यो । त्यसैले वहाँलाई भेटेर आभार प्रकट गर्न एक दिन बिहान वहाँकै क्वाटरमा पुगें । मलाई देखेर वहाँ र वहाँकी पत्नी शिलु श्रेष्ठ चकित र खुसी दुबै भए । लजालु र अल्पभाषी स्वभावकी शिलुले बनाएर ल्याएको चिया खांदै कुराकानी गर्दा वहाँहरु तनहुं जिल्लाको संभ्रान्त परिवारको सदस्य भन्ने थाहा भयो । भरतपुरबाट घर फर्के पछि माओवादीद्वारा हत्या गरिएका सशस्त्र प्रहरी बलका संस्थापक आइजिपी स्व. कृष्णमोहन श्रेष्ठ र पत्नी नुडुप श्रेष्ठको ४५ दिनको पुण्य तिथिमा काठमाडौंमा आयोजित मृत्यु संस्कार अनुष्ठानमा डा. भक्तमान श्रेष्ठलाई अर्को एक पटक भेट्ने मौका पाएको थिएँ ।

यस्ता काबिल र कोमल हृदयी डा. भक्तमान श्रेष्ठलाई हालै विशेष अदालतले निजले १ करोड १८ लाख ६६ हजार ७७६ रुपिया बराबरको सम्पति गैरकानूनी रुपमा आर्जन गरेको ठहर गरी उक्त सम्पति जफत गरी बिगो बमोजिमको जरिवाना र एक वर्ष कैद सजाय हुने फैसला गरेको भन्ने समाचारले मेरो मन एकदम अशान्त भएको छ र वहाँ माथि लगाइएको आरोप र गरिएको सजाय फैसलालाई सत्य सही मान्न पटक्कै मानिरहेको छैन । त्यसो हुनुको कारण उनी प्रति मेरो सम्मान र सदभाव जस्तो भावनात्मक कुरा मात्र होइन, त्यसका पछाडी केहि वैध कारणहरु छन् ।

नेपालका आर्थिक नियम कानूनहरु आफैमा जनतालाई दुरुत्साहित गर्ने खालका त छन् नै, त्यस माथि तिनको फितलो कार्यान्वयनले आर्जन गरेको सम्पतिले वैधता प्राप्त गर्ने समस्याको गांठोलाई धेरै जटील बनाई दिएको छ । हाल प्रचलित आर्थिक कानूनको आधारमा मात्र सम्पतिको मूल्यांकन गर्ने हो भने ९९% नागरिकको सम्पतिको सही स्रोत खुलाउन असंभव जस्तै हुनेछ । डाक्टरहरुले मानव सेवासंगै श्रम गरेरै धन कमाउने हुन् र उनीहरुका धेरै जसो कमाई अनौपचारिक खालका देखिन्छन् । । एकल रुपमा क्लिनिक खोलेर चिकित्सकीय सेवा प्रदान गर्दा स्थानीय निकायमा व्यवसाय दर्ता गरे पुग्ने, लेखापरीक्षण प्रतिवेदन पेस गर्न नपर्ने र राज्यले तोकेको थोरै व्यवसाय कर एकमुष्ठ तिरे पुग्ने यस अघिको व्यवस्थाले डाक्टरहरुले आर्जन गरेको धेरै जसो सम्पति अहिले अवैध देखिनु आश्चर्यको विषय होइन ।

त्यस मानेमा एकजना नाम चलेको डाक्टरले १२-१५ वर्ष सरकारी र प्राइभेट दुबै किसिमका अस्पतालहरुमा र निजी क्लिनिक खोलेर दिनरात सेवा पुर्‍याए वापत डेढ-दुई करोडको सम्पति आर्जन गर्नु कुनै ठुलो कुरा होइन, सामान्य नै मान्नु पर्छ । तर डा. भक्तमान श्रेष्ठले त्यती नै अवधि र त्यसरी नै कमाएको सम्पति मध्ये अदालतले ४८ लाख ९० हजार ३३७ रुपैयाँको सम्पति मात्र वैध मानी स्रोत खुलाउन नसकिएको १ करोड १८ लाख ६६ हजार ७७६ को सम्पतिलाई भ्रष्टाचार गरी कमाएको भन्दै अवैध ठहर गरेको देखिएको छ । त्यसरी स्रोत खुलाउन नसकिएकै आधारमा सम्पतिको मूल्यांकन गर्ने हो भने हालका ठूला र प्रतिष्ठित हस्पिटल र मेडिकल कलेजका सयौं हजारौं संस्थापक डाक्टरहरु देशका ठूला भ्रष्टाचारी ठहर हुने निश्चित छ ।

तसर्थ मलाई लाग्दछ डा. भक्तमान श्रेष्ठ सम्पतिको स्रोत खुलाउन नसकिएको त्यही जटील दुश्चक्रको फन्दामा पर्नु भएको छ । वहाँले आफू माथि लागेको आरोप र विशेष अदालतको फैसला विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्नु हुने नै छ र त्यहाँबाट वहाँ ससम्मान निर्दोष सावित भई रोगीहरुको उपचार सेवामा छिट्टै फर्कनु हुनेछ भनी पूर्ण विश्वास गर्दछु