सकियो एकहप्ते फोटोग्राफी तालिम

सन्तकुमार चौधरी
चितवन १८ कार्तिक । चितवन फोटोग्राफी संघले आयोजना गरेको एकहप्ते आधारभूत फोटोग्राफी तालिम आइतवार सकिएको छ । नारायणगढ स्थित संघको आफ्नै कार्यालयमा एक कार्यक्रमकाबीच तालिम समापन गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै चितवनका फोटोग्राफरहरुले फोटोग्राफीमा समेत चितवनलाई अब्बल बनाउन तालिम महत्वपूर्ण भएको बताएका थिए । तालिम संयोजक धुब्र सापकोटाले चितवनका व्यवसायीक फोटोग्राफरहरुलाई अब्बल बनाउन तालिम आयोजना गरेको बताउनुभयो ।
संघका उपाध्यक्ष समेत रहनुभएका सापकोटाले आगामी दिनमा पनि यस्ता खालका तालिमहरुलाई निरन्तरता दिँदै जाने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सह सचिव सन्तकुमार चौधरीले पोल्ट्री र कृषिमा जस्तै फोटोग्राफी पेशामा पनि चितवनले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
फोटोग्राफी पेशामा पनि सम्भावना राम्रो भएका कारण जिल्ला भित्रका साना तथा ठूलो स्टुडियोहरुलाई समेत संघमा आवद्ध गराएर लैजान सुझाव समेत दिनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फवाट प्रदिप खरेल, प्रशिक्षक चन्द्रमान डगोंल लगायतले तालिमको औचित्यको बारेमा बोल्नुभएका थियो ।
कार्यक्रम संघका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्तिक १० गतेदेखि १७ गते सम्म तालिम आयोजना गरिएको थियो । नारायणगढमा आयोजना गरिएको तालिममा चितवनका २० जना फोटोग्राफरहरुको सहभागीता थियो ।