मिष्टर एण्ड मिस ग्ल्यामरको उपाधि सिर्जन र रोजिनालाई

चितवन, १८ कात्तिक । मुन मिडिया हाउसको आयोजनामा वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा सम्पन्न मिष्टर एण्ड मिस ग्ल्यामरको उपाधि पुरुषतर्फ सिर्जन श्रेष्ठ र महिलातर्फ रोजिना तिमिल्सिनाले जितेका छन् ।
९ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा ४ पुरुष र ५ महिलाहरुको सहभागिता रहेको थियो । त्यस्तै फष्ट रनरअफ पुरुषतर्फ प्रमोद सापकोटा र महिलातर्फ साया श्रेष्ठ भएका थिए । प्रतियोगितामा परिचय राउण्ड, फेशन राउण्ड हुँदै प्रश्न–उत्तर राउण्ड भएका थिए ।

उज्यालो टाईम्सका प्रधान सम्पादक एवं प्रकाशक राजु भट्ट प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ प्रमुख निर्णायक, रिलेसन एफ.एम.का अध्यक्ष एवं युवा व्यवसायी, समाजसेवी अनिल अधिकारी, मिस नर्स चितवन २०१४ की फष्ट रनरअफ रचना पुरी, सोसेजेनिस मिडियाका प्रबन्ध निर्देशक मिलन लामा गोले, सिनियर कोरियोग्राफर प्रज्ञा तिवारी निर्णायकमा रहनु भएको थियो । उक्त प्रतियोगितामा वेष्ट फोटोजेनिक, वेष्ट क्याटवाक, वेष्ट डिसिपिलिन, वेष्ट हेन्सम तथा व्यूटीफुल, वेष्ट ट्यान्लेन्टलगायतका विभिन्न अवार्डहरु प्रदान गरिएको थियो । कार्यक्रमको कोर्डिनेटरमा प्रोसेसजङ थापा र आर्जु ढुङ्गाना रहेका थिए । राकेश तिमिल्सिनाले सञ्चालन गरेको उक्त प्रतियोगिताको कार्यक्रम संयोजक दिपा पाठक हुन् ।