देवघाटमा सामुहिक गाई पूजाको तयारी तीव्र

चितवन, १८ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर १ वागीश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा यस वर्ष पनि सामुहिक गाई पूजा गरिने भएको छ । आगामी कात्तिक २१ गते लक्ष्मी पूजाको दिनमा गरिने सामुहिक गाई पूजाको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
चितवनको देवघाट क्षेत्रको वागीश्वरी आध्यात्मिक परिषद्मा रहेको योगी नरहरिनाथ आश्रम, योगी नरहरि नाथ गौ संरक्षण केन्द्रले सामुहिक गाई पूजा गर्न लागिएको हो । योगी नरहरिनाथले सञ्चालन गरेका गौ संरक्षण केन्द्रमा आगामी कात्तिक २१ गते लक्ष्मी पूजाको दिनमा धुमधामसँग सामुहिक गाई पूजा गरिने तयारी भइरहेको आयोजकले जनाएको छ । गाई पूजाका लागि एक सय ५१ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको उल्लेख गर्दै केन्द्रका संयोजक टंकनाथ पौडेलले पूजालाई व्यवस्थित गर्न जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापाको संयोजकत्वमा प्रसाद वितरण उपसमिति, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीको संयोजकत्वमा सरसफाई उपसमिति, राम वस्तीको संयोजकत्वमा दाताको अभिलेखिकरण उपसमिति, भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठको संयोजकत्वमा स्टेज व्यवस्थापन उपसमिति, सिर्जना अर्याल तथा विनु रायमाझीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको पौडेलले बताए ।
। बैदिक गाईहरुलाई राखेर पूरोहितद्वारा मन्त्र उच्चारण गर्दै सर्वसाधारणले गाई पूजा गर्न पाउने आयोजकले जनाएको छ । परापूर्व कालदेखि लक्ष्मीको प्रतिकको रुपमा रहेको गाईलाई पूजा गर्ने परम्पराको निरन्तरताका साथै नयाँ पुस्ताले संस्कृति बिर्सन थालेका कारण यसको संरक्षणका लागि सामुहिक गाई पूजाको आयोजना गरिएको हो । सामुहिक गाई पूजामा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना प्रमुख अतिथि रहने योगी नरहरि नाथ गौ संरक्षण केन्द्रका संयोजक टंकनाथ पौडेलले जानकारी दिए ।
केन्द्रले स्थानीय जातका बैदिक गाईहरुको संरक्षण गर्दै आएको छ । हाल केन्द्रमा माउ तथा बच्चा गरि करिब साढे एक सयको हाराहारीमा गाईहरु संरक्षण गरेर राखिएको छ । वागीश्वरी क्षेत्रमा हुने सामुहिक गाई पूजा २१ गते लक्ष्मी पूजाको दिनमा बिहान ७ बजेदेखि सञ्चालन गरिने पौडेलले बताए ।