अध्यक्ष प्रचण्डले भने-पार्टी एकताको मूल आधार विश्व कम्युनिष्ट आन्दोलनमा सन्देश दिन पनि हो

बुटवल,१७ कात्तिक । पुर्व प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीको एकताको मूल आधार स्थिर सरकार, राष्ट्रिय एकता, आर्थिक विकास र २१ औं शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनमा के सन्देश दिने भन्ने आधारमा भएको बताएका छन् । विजय दशमी,दिपावली एवं छठ पर्बको अवसरमा प्रदेश नम्बर ५ ले आयोजना गरको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “यि मूलभूत कुराहरुमा एउटा समझदारी र समिक्षा पछि मात्र हामी एकताको सहास गरेका हौं ।” उनले विकासका लागि देशमा अहिले राजनीतिक पूर्वाधार तयार भईसकेको बताउँदै यो सानो कुरा होइन भने । कम्युनिष्ट पार्टीको एकता हुँदैन थियो भने र बलियो सरकार गठन हुँदैन थियो भने देशमा विकासको गति पैदा हुन सम्भव नहुने अध्यक्षको भनाई थियो ।

राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयता सहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गरिने अध्यक्षको धारणा थियो । रुपन्देहीको बुटवलमा आयोजित नेकपाको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्न आज बिहान भैरहवाको गौतमबुद्ध विमानस्थलमा पुग्नुभएका अध्यक्ष प्रचण्डले पछिल्लो समय विमानस्थलको निर्माण प्रगति तथा गुणस्तरबारे निर्माण आयोजना प्रमुखसँग जानकारी लिए ।

त्यसक्रममा विमानस्थल निर्माण कार्य समयमै सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिए । उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको बताए । उनले बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन बढ्दै गएको बताए ।