गैंडाकोट नगरपालिकाको विवाद टुंगियो

चितवन, १५ कात्तिक । पूर्वी नवलपरासीमा रहेको गैंडाकोट नगरपालिकाको आर्थिक विषयलाई लिएर लामो समयदेखि देखिएको विवाद टुंगिएको छ ।
आर्थिक विषयलाई लिएर गैंडाकोट नगरपालिकाका प्रमुख र उपप्रमुखबीच देखिएको विवाद जिल्लाको प्रमुख कोष नियन्त्रकको संयोकत्वमा गठित समितिले टुंगो लगाएको छ । नगर प्रमुख छत्रराज पौडेलले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उपप्रमुख विष्णुदेवी कंडेलले ०७५ असार महिनाको हिसाब हेर्न पाउनुपर्ने भन्दै नगर प्रमुखको कार्यकक्षमा ताला समेत लगाएकी थिइन् । त्यसपछि बनेको समितिले आर्थिक कारोबारहरुको स्रेस्ता निरीक्षण गरि प्रमुख र उपप्रमुखको तोक आदेशमा १८ लाख २६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।
नगर प्रमुखले तोक आदेश कानुन सम्वत भएको उल्लेख गर्दै जनताको विकास निर्माणसँग सम्बन्धित विषयमा मात्रै तोक आदेश लगाएको बताए । समितिले असार महिनाको चार सय ३६ वटा बिल तथा भौचरहरु निरीक्षण गर्दा आठ करोड ५८ लाख ५१ हजार रुपैयाँ खर्च भएकोमा ३८ वटा भौचरबाट १८ लाख २६ हजार रुपैयाँ तोक आदेशबाट खर्च भएको जनाएको छ ।
नगर प्रमुख बाहेकले तोक आदेशमा खर्च गर्न नपाउने स्थानीय तह सञ्चालन कार्यविधिमा उल्लेख गरेको भएपनि उपप्रमुखले समेत एक लाख नौ हजार रुपैयाँ तोक आदेशबाट खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रमको लागि छुट्याएको बजेट नगर प्रमुखले लेख्नुपर्ने भएपनि त्यसमा तोक लगाउनुपर्छ भन्ने नभएको उपप्रमुख कंडेलको भनाइ छ ।
गैंडाकोट नगरपालिकामा विवाद बढेपछि निर्माण गरेको समितिले प्रमुख जिल्ला अधिकारीलाई समेत प्रतिवेदन बुझाएको छ । समितिको प्रतिवेदनपछि नगर प्रमुख र उपप्रमुखले आफूहरुबीचको विवाद समाधान भएको भन्दै नगरपालिकाको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।