पिपिएल : चितवन राइनोजको दोश्रो जित, काठमाडौं रोयल्स १३ रनले पराजित

पोखरा, १५ कार्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको टिम चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो ।

१५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रन बनाए । काठमाडौंले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएपछि जित नजिक पुगेर पनि पराजित भयो ।

बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिए । टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।