चितवनमा सुन्तलाको खेती फस्टाउँदै, इच्छाकामनामा सुन्तलाखेती गर्ने किसान बढे

किशोर खनाल

चितवन, १५ कात्तिक  । सुन्तलाको कुरा गर्नासाथ सबैको मुख रसाउँछ । त्यसमा पनि पातसहितको सुन्तला । अब अन्त खोज्न जानै पर्दैन, नारायणगढ र मुग्लिन बजारमा तिहारको मुखमा पातसहितको सुन्तला आउन सुरू भइसकेको छ ।

‘तिहार नजिकिँदै गर्दा तामिनको पातसहितको सुन्तला व्यवसायीहरुलाई बेच्न सुरू गरेका छौँ’, तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने । उनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ५ तामिनमा फलाइएको पातसहितको सुुन्तला नारायणगढ र मुग्लिन बजारमा पठाइएको छ ।

किसानले पातसहितको सुन्तला प्रतिकिलो ६० रूपैयाँमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार तामिनको एउटै सुन्तला १५० ग्रामसम्मको हुन्छ । यो सुन्तला बजारमा आएपछि बाहिरबाट आयात भएका सुन्तलाहरु कम बिक्छन् ।

‘तामिनको सुन्तला भर्खर पाक्न सुरू भएको छ, अलिअलि बजारतर्फ पठाउन पनि थालिएको छ’, उनले भने, ‘तिहारको समयमा प्रशस्त तामिनको सुन्तला बजारमा पाइन्छ ।’ ठूला दाना भएका दुईवटा पात भएका सुन्तला तामिनको हो ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार इच्छाकामना गाउँपालिकामा सुन्तलाखेती गर्ने किसानहरु बढेका छन् । इच्छाकामनाका विभिन्न वडाहरुमा सुन्तला पकेट क्षेत्र घोषणा गरेपछि सुन्तलाखेती गर्न किसानहरु आकर्षित भइरहेका छन् । इच्छाकामनामा बर्सेनि ५ हेक्टरको दरले सुन्तलाखेतीको क्षेत्रफल बढिरहेको छ ।

‘यो वर्ष हावाहुरीले नोक्सान पु¥याएन, रोगव्याधिले पनि त्यति धेरै सताएन’, अध्यक्ष नेपालले भने, ‘त्यसैले, यसवर्ष इच्छाकामनामा सुन्तलाखेती राम्रो भएको छ, यहाँका किसानहरुको जीवनस्तरमा सुधार आउने विश्वास छ ।’

कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाको वडा नं ५ मा रहेको तामिन क्षेत्र, वडा नं २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र भनेर घोषणा गरेको छ । झन्डै १५ हेक्टरलाई सुुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ ।

यसवर्ष इच्छाकामनाको वडा नं ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । झन्डै १५० बिघामा सुन्तलाखेती गरिएको छ । वडा नं ५ मा ६० बिघामा, वडा नं २ मा ३० बिघामा, वडा नं ६ मा समेत सुन्तलाखेती गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधीर श्रेष्ठले गत वर्ष चितवनको इच्छाकामनामा २ सय ४४ हेक्टरमा सुन्तलाखेती गरिएको जानकारी दिए । उनले भने, ‘यो वर्ष झन्डै २ सय ५० हेक्टरमा सुन्तलाखेती गरिएको छ, सुन्तलाखेती गर्ने किसान बढ्दा यसको क्षेत्रफल पनि बढिरहेको छ ।’

कृषि ज्ञान केन्द्रले सुन्तला पकेट क्षेत्रमा गत वर्ष ३ हजार बिरूवा वितरण गरेको थियो । इच्छाकामना गाउँपालिकाले पनि किसानहरुलाई सुन्तलाको बिरूवा वितरण गरेको थियो ।

तामिन कृषि सहकारीले मात्र गत वर्ष डेढ करोडको सुन्तलाको कारोबार गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

उनले भने, ‘यो वर्ष २ करोडको कारोबार हुन्छ ।’ उनका अनुसार यो वर्ष अत्यधिक फूल फुलेका र हावाहुरीले असर नगरेको हुनाले सुन्तला बाक्ला फलेका छन् ।’ आजको चितवन पोष्टमा खबर छ ।