निर्माण व्यवसायी गौचन हत्यामा संलग्न जेल चलान

काठमाडौँ, १४ कात्तिक । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ ।
विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही कात्तिक १२ गते पक्राउ गरेका झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई आज डिल्लीबजार कारागार चलान गरेको हो ।
महाशाखाका प्रमुख धीरजप्रताप सिंहले पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जानकारी दिनुभयो । सोमबार महाशाखाको टोलीले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्राउ गरेको थियो । उनीहरु निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचन र युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेका थिए । उनीहरुले दावा लामामाथि २०७३ चैतमा गोली प्रहार गरेका थिए । रासस