पिपिएल क्रिकेटमा चितनवन राइनोजको पहिलो जित,धनगढी बुल्ज १ सय २६ रनले पराजित

पोखरा,१४ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले पहिलो जीत
निकालेको छ । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजले एक्पर्ट धनगढी बुल्जलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्यएको धनगढी १६।२ बलमा ६७ रनको कमजोर स्कोरमा अलआउट भयो।

जारी प्रतियोगितामा चितवनको यो पहिलो जित हो। पहिलो जितसँगै चितवनले दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ। चितवन सुरुवाती २ खेलमा पराजित भएको थियो। यता तीन खेल खेलेको धनगढीले पहिलो खेलमा काठमाडौंसँग हार बेहोर्दा दोस्रो खेलमा जित हात पारेको थियो।

पोखरा रंगशालामा बुधबार धनगढीको ओपनिङ सुखद् हुन सकेन। धनगढीका दुवै ओपनर खाता नै नखोली आउट भएका थिए। दिलीप नाथ पहिलो ओभर र ड्यानियल लाउरेन्स दोस्रो ओभरको पहिलो बलमा डकआउट भएका थिए। सन्दीप सुनार र कप्तान दीपेन्द्रसिंह ऐरी पनि १(१ रनकै कमजोर स्कोरमा आउट भएपछि धनगढी सुरुवातमै संकटमा परेको थियो। धनगढीले सुरुवाती ४ विकेट ७ ओभरमा गुमाउदा २७ रन मात्र जोडेको थियो।

लगत्तै पिटर ट्रेगो २७ रनमा आउट भएपछि धनगढीको आसा कमजोर बन्दै गएको थियो। ट्रेगोले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। आसा गरिएका अर्का ब्याट्सम्यान सौरभ खनाल र सन्दीप जोरा ८(८ रनमै आउट भएका थिए। मन्जित श्रेष्ठ २ रनमा आउट हुँदा कमलसिंह ऐरी र रोबिन क्षेत्रीले रन जोड्न सकेनन्।

योगेन्द्रसिंह कार्की पनि १७ रन बनाएर खेलिरहदा शक्ति गौचनबाट बोल्ड भएका थिए। उनले ३० बल खेलेर १ छक्का प्रहार गरे।

बलिङमा चितवनका सनी पटेलले ४ विकेट लिन सफल भए। भारतीय अलराउन्डर पटेलले ३।२ ओभरमा ८ रन खर्चिए। भुवन कार्की र स्मित पटेलले २(२ विकेट लिए। करण केसी र शक्ति गौचनले १-१ विके६ हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन जोड्यो।

चितवनले उत्कृष्ट ओपनिङ गरेको थियो। हरिशंकर साह र अनिलकुमार साहको ओपनिङ जोडीले पहिलो विकेटका लागि १०।४ ओभरमा १ सय १ रनको साझेदारी गरेका थियो। जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो साझेदारी हो। अनिलले आउट हुनुअघि ३७ रन जोडे। धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा विकेटकिपर दिलीप नाथबाट सामातिनुअघि अनिलले ३४ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे।

हरिशंकरले चितवनका लागि सर्वाधिक रन प्रहार गर्ने क्रममा अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ रन बटुले। उनले ९ बलमा ४ चौका हिर्काए। मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख रन नै नजोडि रनआउटको सिकार भएका थिए।

स्मित पटेलले २४ रन बटुले। उनले १७ बलमा ४ चौका प्रहार गरे। सनी पटेलले नटआउट २६ रन र करण केसीले नटआउट ११ रन जोडे। सनीले १६ बलमा ३ चौका र १ छक्का हिर्काए। करणले ६ बलमा २ चौका प्रहार गरे।

बलिङ धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी, ड्यानियल लाउरेन्टस, मन्जित श्रेष्ठ र योगेन्द्रसिंह कार्कीले समान १(१ विकेट लिए।