धार्मिक तथा पर्यटकीय स्थलको संरचना विकासपछि पर्यटकको वृद्दि

 

रामधन राई
खोटाङ,१३ कात्तिक । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुलेमा पर्यटकको घुइँचो लाग्न थालेको छ । ऐतिहासिक स्थल भुल्भुलेमा नगरपालिकाले संरचना विकास गरेपछि ७५ प्रतिशतले पर्यटक वढेको हो । रामधन राईको रिपोर्ट ः

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार संरचना विकास पश्चात आकर्षक बनेको भुलभुलेमा छोटो समयमै पर्यटक वढ्न थालेका छन् । पर्यटन प्रवद्र्धनले नगरपालिकाको समृद्धिमा भूमिका खेल्ने भएकाले भुलभुलेको संरचना विकासमा जोड दिएको नगरप्रमुख रिजालको भनाई छ ।

मध्येपहाडी लोकमार्गमा पर्ने भुल्भुलेमा यही वर्ष संरचना विकास गरिएपछि दैनिक दुईदेखि तीन सय पर्यटक आउने गरेको वताईएको छ । भुलभुलेस्थित विभिन्न संरचनाका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ४० लाख रूपैयाँ वजेट विनियोजन गरेको थियो । भुलभुलेको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

सदरमुकाम दिक्तेलवजारवाट ७ किलोमिटर दुरीमा अवस्थित भुलभुलेमा यलम्बरको मूर्ति, बुढानिलकण्ठ, सात धारा, असला माछा आकर्षणको केन्द्रविन्दु मानिन्छ । पानीको मुहानसँगै उत्पति भएको मानिने भुल्भुलेको माछालाई देवताको प्रतीकको रुपमा लिईन्छ । त्याहाँ कहिलेकाहीँ रातो माछासमेत देखिने स्थानीयको भनाइ छ ।

बाह्रै महिना एकैनासको पानी बग्ने भुल्भुलेमा भुलभुसकारी र सातकन्यदेवीको पूजाअर्चना गरिन्छ । जमिनमुनिबाट भुलभुल उम्रिने पानीले नुहाएमा रोग पखालिने जनविश्वास रहिआएको छ ।

भुल्भुले नजिकै रहेको रुवालुङ झरनाले समेत आन्तरिक तथा वाह्य पर्यटक तान्न थालेको स्थानीय सुनाउँछन् । भुल्भुलेवाट करिव दश मिनेट पैदल यात्रा गरी पुगिने झरनासम्म जाने मार्ग लगायतको संरचना निर्माण गरिएपछि पर्यटक वढेको वताईएको छ ।