नारायणगढ मुग्लिङ सडकमा नयाँ पुलको लागि डिपीआर सुरु

चितवन, १२ कात्तिक । मुग्लिङ नारायणगढ सडक खण्डमा हुने दुर्घटना न्यूनीकरणका लागि १४ वटा नयाँ पुल निर्माण हुने भएका छन् ।
नारायणगढ मुग्लिङ सडक खण्ड सुधारको काम सकिएलगत्तै बाटो सडकसँग सिधा हुने गरि १४ वटा नयाँ पुल निर्माणको प्रकृया सुरु भएको हो । सडक फराकिलो भएपनि पुल साँघुरो हुँदा दुर्घटना बढेकोले भौतिक योजना तथा यातायात मन्त्रालयले दुर्घटना रोक्नका लागि सडकसँग सिधा हुने गरि फराकिलो पुल निर्माण गर्न लागेको हो । बांगो टेडो भएर गएको सडकलाई सिधा पार्नका लागि पुल निर्माणको प्रकृया सुरु गरिएको भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
नारायणगढ मुग्लिङ सडक निर्माण सम्पन्न भएपनि जिर्ण बनेका पुलका कारण पटक पटक दुर्घटना भइरहेका छन् । सो क्षेत्रमा बन्ने नयाँ पुलको डिपीआर भइरहेकाले डिपीआर सकिने बित्तिकै ठेक्का सम्झौता गरि निर्माण कार्यलाई अगाडि बढाइने भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए ।