हत्यामा संलग्न पाँच जना पुर्पक्षका लागि थुनामा

शालिकराम भट्टराई
नवलपुर, १२ कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ का १९ वर्षीय रुपेश महतोलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पाँच जनालाई थुनामा पठाइएको छ ।
जिल्ला अदालत नवलपुरले महतोको हत्यामा संलग्न भएको अभियोगमा पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार भरतपुर चलान गरेको हो । विनयी त्रिवेणी गाँपालिका २ दुम्किबास ज्यामिरेका १९ वर्षीय मनोज जमरकट्टेल, २१ वर्षीय सुरज काउसा मगर, २२ वर्षीय दिपेन रोक्का, १९ वर्षीय सागर थापा क्षेत्री तथा ३४ वर्षीय सन्तोष बहादुर थापालाई जिल्ला कारागार भरतपुर चलान गरिएको हो ।
गत असोज ४ गते विनयी त्रिवेणी गाँउपालिका १ मा रहेको बाग्लुङ कालिका क्रसर उद्योग परिसरमा विवाद हुँदा महतोलाई कुटपिट गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएका महतोको कावासोती १६ डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।