चितवनमा सुरु भो ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम (भिडियो)

 

चितवन, ११ कात्तिक  । जिल्ला प्रहरी कार्यालय चितवनले नागरिक र जनताबीचको सम्बन्ध सुधार गर्दै अपराध न्यूनीकरण गर्न  ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चितवनमा सुरु भएको छ ।

 

 

प्रहरी प्रधान कार्यालयले काठमाडौंसहित मुलुक भर सुरु गरेको कार्यक्रम एकैसाथ चितवनमा पनि  सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुअ सुशिलसिहं राठौरले जानकारी दिए ।

उनले शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय चितवनले आइतबारबाट जिल्ला व्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको जानकारी समेत गराए ।

 

 

 

उनले समाजमा दिगो शान्ति स्थापना तथा जनताको जिउधनको रक्षाका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले लामो समयको गहन अध्ययनपछि सञ्चालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने विश्वास पनि व्यक्त गरे ।

एक समारोहका विच जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णप्रसाद डल्लाकोटीले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सो अवसरमा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

उनले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न चितवन प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने बताए ।

 

यस्तै कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने दावी छ ।

कार्यक्रममा  ३ नम्बर प्रदेशका ट्राफिक प्रमुख एवम् प्रहरी उपरीक्षक नविनराज राईले प्रहरी महानिरीक्षकको सन्देश पढेर सुनाएका थिए ।

विशेषगरी राजमार्गमा सञ्चालित ठूला सवारीहरुले दायाँ मोड्दा वा ओभरटेक गर भन्ने संकेत दिँदा दाँया तर्फको साइड लाइट बाल्ने गर्दा त्यस पछाडिको सवारी चालकमा अन्यौलता सिर्जना भई दुर्घटना बढेको उनले बताए ।

सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम जिल्लाका ७ वटै स्थानिय तहका टोल टोलमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदाय सँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न चितवन प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको बताईएको छ । उक्त कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, कर्मचारी,शुरक्षा कर्मी,सञ्चारकर्मी तथा स्थानियबासी लगायतको सहभागिता रहेको थियो ।

 

यसका लागि सरकारी र गैरसरकारी निकायसँग आवश्यक साझेदारी गर्ने प्रहरीको योजना छ । प्रहरीले अघि सारेको कार्यक्रम ७५३ स्थानीय तह, ६ हजार ७ सय ४३ वडाहरु, २५ सय ४५ प्रहरी इकाई, ३६ हजार निजी तथा सामुदायिक विद्यालय, १० हजार संघसंस्था, ३५ हजार जनप्रतिनिधि, ४० लाख अभिभावक, ४० हजार शिक्षक र ७५ लाख विद्यार्थीमाझ पुग्ने लक्ष्य लिएको छ ।