आधारभुत विद्यालय माधवपुर महायज्ञ हुदै,तयारी अन्तिम चरणमा

चितव, १० कार्तिक । रत्ननगर नगरपालिका १५ हरियाली टोल स्थित आधारभुत विद्यालय माधवपुरमा यही कार्तिक १४ गतेदेखी श्रीमद्भागवत धनधान्याचल सप्ताहमहायज्ञ तथा माधवपुर धार्मिक शैक्षिक महोत्सव हुदैछ । महायज्ञ मुल समारोह समितिले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव र यसको तयारीका बारे जानकारी गराएको हो ।

माध्यमिक तहको विद्यालय संचालन,कक्षा १ देखी १० सम्म अग्रेजी माध्यमबाट पढाई र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा संचालन गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको महायज्ञका संयोजक रमेश लामिछानेले जानकारी दिए । कार्तिक १४ गतेबाट सुरु भई २० गते सम्म चल्ने महायज्ञमा पण्डित दिनवन्धु पोखरेलले कथा वाचन गर्नेछन् । महायज्ञबाट २ करोड रुपैया संकलन गर्ने लक्ष्य लिईएको छ । महायज्ञमा २० लाख खर्च हुने अनुमान छ । विद्यालयका प्राधानाध्यापक वालकृष्ण ढकालका अनुसार सो विद्यालयमा हाल कक्षा १ देखी ६ सम्म अग्रेजी माध्यमबाट पढाई हुदै आएको छ । वि.सं.२०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल २ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।

महायज्ञका संयोजक लामिछानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा रत्ननगर १५ का वडाध्यक्ष हुमनाथ लामिछाने,शिक्षाप्रेमीहरु ओम लामिछाने,शिव तिवारी,डिलवहादुर रायमाझी लगायतले महायज्ञ सफल पार्ने प्रतिवद्धता जनाए ।