पिपिएल क्रिकेट : बुटवलद्वारा चितवनलाई १३६ रनको लक्ष्य

पोखरा,१० कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १ सय ३६ रनको लक्ष्य दिएको छ। शनिबार विहान पोखरा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन जोड्यो।

बुटवलका लागि शंकर रानाले सबैभन्दा बढी ४८ रनको योगदान गरे। उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे। ओपनिङ ब्याट्सम्यान सागर पुनले ४६ रनको योगदान दिए। सागर र शंकरबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी भएको थियो।

त्यसअघि खराब ओपनिङ गरेको बुटवलले पहिलो ‌ओभरमै २ विकेट गुमाएको थियो। चिराग सुरी १ रन र रोहान मुस्ताफा २ रनमा आउट भएका थिए। भीम सार्की २ रनमा आउट भएका वुटबल सुरुमै दबावमा परेको थियो।

वुटबलका लागि सिद्धान्त लोहनीले १५ बलमा नटआउट १७ रन र कप्तान सोमपाल कामीले ३ बलमा नटआउट ६ रन जोडे।

बलिङमा करण केसीले २ विकेट लिए। रामनरेश गिरी र शक्ति गौचनले १-१ विकेट हात पारे।