गृहमन्त्रीद्वारा अध्यागमन विभागको अनुगमन, थप व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, ९ कात्तिक । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशनदिएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीहरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे ।

उनले भने, ‘विदेशीले नेपाल टेक्ने बित्तिकै हुने उसको फस्ट एक्स्पीरियन्स महत्वपूर्ण हुन्छ । पहिलो अनुभवनै नराम्रो भयो भने उ फर्केर फेरी नेपाल आउँदैन । साथीहरुलाई पनि नजान सुझाव दिन्छ । तर, अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरु लाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुहोस् । ’

विमानस्थल र सिमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशिल जिम्मेवारी दिएकोले त्यसलाई गम्भिर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए । उनले भने, ‘यहाँ काम गर्ने कर्मचारीको मुख्य तिन जिम्मेवारी रहेको छ । पहिलो राष्ट्रिय सुरक्षाको जिम्मेवारी, दोस्रो देशको अर्थतन्त्रको विकासको जिम्मेवारी र तेस्रो मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।’