न्यायमा सहजता ल्याउने गरि ऐन कार्यान्वयनमा जोड

काठमाडौं, ०९ कात्तिक । सांसदहरुले जनतामा प्रभावकारी र न्यायमा सहजता ल्याउने गरी विद्यमान ऐन कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा विद्यमान ऐन कानुनहरुको प्रभावकारीतालाई मध्यनजर गर्दै यसको कार्यान्वयन हुनुपर्ने बताएका हुन् । संविधानको कार्यान्वयनका लागी विभिन्न ऐन बनेपनि त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर र प्रभाव जनतामा रहे नरहेको विषयमा मुल्याङ्कन समेत हुनुपर्ने उनीहरुको भनाइ छ । ऐन कार्यान्वयन, मापन र अध्ययन अनुसन्धान सम्बन्धी छलफल गर्न बोलाईएको बैठकमा सांसद रामनारायण बिडारीले ऐन कार्यान्वय मापन गर्ने काम सरकारको भएको बताए ।
विभिन्न विद्येयकहरु संसदबाट पारित हुने भएकाले त्यसको अध्ययन अनुसन्धान सरकारी तवरबाट हुनुपर्ने बिडारीको भनाइ छ । त्यस्तै सांसद राधेश्याम अधिकारीले विद्यमान ऐनको प्रभावकारीका बारेमा अन्य देशमा मापन हुने भएपनि नेपालमा त्यसको मापन हुन नसकेको बताए । बैठकमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले ऐन कार्यान्वय मापन र अध्ययन अनुसन्धानका लागी संसद र अन्य देशमा पनि प्रचलनमा रहेको कानुन आयोगको नै प्रभावकारी भूमिका हुने बताए ।
पौडेलले ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउनुपर्नेमा पनि जोड दिएका थिए ।