अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन सुधार गर्न निर्देशन

काठमाडौं, ०९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापनलाई सुधार गर्न निर्देशन दिएका छन् ।
शुक्रबार विमानस्थलको अनुगमन गर्दै गृहमन्त्री थापाले विमानस्थलमा आउने जाने यात्रुलाई सुविधा प्रदान गर्दै व्यवस्थापनलाई सुधार गर्न निर्देशन दिएका हुन् । विमानस्थललाई व्यवस्थित बनाउन ठोस प्रयासको थालनी स्वरुप विमानस्थलको अनुगमन गरिएको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए । अनुगमनका क्रममा गृहमन्त्री थापाले विमानस्थललाई व्यवस्थित बनाउन माहतका निकायलाई पनि सचेत गराएका थिए ।
अनुगमनका क्रममा अध्यागमनमा भिड भएको, सामान टुटफुट, मुद्रा सटहीमा भिड हुने गरेको गुनासो यात्रुहरुले गरेका थिए । यात्रुहरुको गुनासोलाई मध्यनगर गर्दे विमानस्थलमा देखिएका समस्या पहिचान गर्दै समाधान खोज्न निर्देशन दिईएको सचिव राईले जानकारी दिए । विमानस्थल र अध्यागमन कार्यालयको सुधारलाई सरकारले प्राथमिकतामा राखेकाले अब निरन्तर अनुगमन गरिने राईले बताए ।
उडानको समय थप भएसँगै विमानस्थल अस्तव्यस्त भइरहेको गुनासो आइरहेका बेला मन्त्री थापाले अनुगमन गरेका हुन् । गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशील हुन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।