जब मोटो रकम तिरेर किनेको कालो घोडा अचानक सेतो भएपछि….

एजेन्सी,९ कात्तिक । भारतको पंजावमा मोटो रकम तिरेर किनेको कालो घोडा अचानक सेतो भएपछि खरिद गर्ने व्यक्तिको होश उडेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतको पंजाबको फरिदकोटका एक घोडा व्यापारीले सेतो रङको घोडालाई कालो रङ लगाएर बिक्री गरेका थिए। पन्जाबस्थित फरिदकोटमा एक व्यक्तिले साढे १७ लाख हालेर किनेको कालो घोडा सेतो भएको थियो ।व्यापारीले फरिदकोट निवासी करनवीर इन्द्रसिंहलाई नोभेम्बर २०१७ मा मारवाडी जातिको भनेर उक्त घोडा बेचेका थिए ।

घोडा व्यापारी मेवा सिंहले करनवीरलाई घोडा राजस्थानमा सबैभन्दा राम्रो र मारवाडी जातिको भन्दै बिक्री गरेका थिए । सुरुमा २४ लाख मुल्य बताएका सिंहले पछि साढे १७ लाखमा बिक्री गरेका थिए ।तर, विस्तारै विस्तारै घोडाको रंग खुइलिन थालेपछि उनी अचम्म मात्र भएनन्, घोडा बिरामी पो भएको हो कि भन्दै चिन्तामा परे । त्यसपछि उनले घोडा व्यापारी मेवा सिंह र उनका साथीसँग घटनाबारे जानकारी गराए । तर, व्यापारीले कुनै प्रतिक्रिया नै नदिएपछि करनवीरले प्रहरीमा उजुरी दिए ।घटनाबारे फरिदकोट सहरका एसएचओ इकबाल सिंहले मेवा सिंह र उनका आमाबाबुसहित घटनामा संलग्न आठजना विरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको जानकारी गराएका छन्। उनीहरुको खोजी भइरहेको बताइएको छ।