युवा स्वरोजगार कोषबाट व्याज अनुदान वितरण, सबै स्थानीय तहमा कोषको स्वरोजगार कार्यक्रम पुर्याइने

कृष्ण भट्टराई,

सुनसरी,  ८ कार्तिक ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सुनसरी र मोरंग जिल्लाका एकहजार जना भन्दावढि व्यवसायीहरुलाई व्याज अनुदान वितरण गरेको छ । स्थानीय सहकारी संस्था मार्फत कोषको कर्जा रकम लिएर व्यवसाय सन्चालन गरेका व्यवसायीहरुलाई उनीहरुले तिरेको व्याजको ६० प्रतिशत अनुदान दिएको हो ।

मोरंग र सुनसरीमा छुट्टा छुट्टै कार्यक्रममा आयोजना गरि कोषले एक हजारभन्दा वढि व्यवसायीहरुलाई ६४ लाख रुपैयाँ व्याज अनुदान वितरण गरेको हो । मोरङका ८ ओटा सहकारी संस्था मार्फत ऋण लिएर व्यवसाय गरेका ७ सय जना व्यवसायीहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिइएको छ । कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्री भानुभक्त ढकालले बुधवार सुन्दरहरैंचामा आयोजित कार्यक्रममा अनुदान रकम वितरण गर्नुभयो । सो कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष प्रेम दंगालले मनाङ र मुस्ताङ् बाहेक देशका सवै जिल्लामा स्वरोजगार कोषले स्थानीय सहकारी संस्था मार्फत स्वरोजगार अभियान सन्चालन गरेको जानकारी दिनु भयो । हालसम्म कोषले स्वरोजगार अभियान अन्र्तगत देशभरी ८ अर्ब रुपैयाँभन्दा वढि कर्जा लगानी गरेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा मात्र कम्तीमा ७ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य रहेको उल्लेख गर्नु भयो । उहाँका अनुसार हरेक स्थानीय तहमा कम्तीमा १ करोड रुपैयाँ लगानी गरिने छ ।

कोषले यस अघि सहकारीहरुलाई एक पटकमा वढिमा ५० लाख र सहकारीका सदस्यलाई बिना धितो २लाख सम्म मात्र कर्जा दिदै आएकोमा यस वर्षदेखी सिमा बढाएको छ । नयाँ व्यवस्था अनुसार सहकारी संस्थालाई १ करोड रुपैयाँ र सहकारी सदस्यलाई स्वरोजगार मुलक व्यवसाय तथा सिप कार्यक्रम सन्चालन गर्न बिना धितो ५ लाख रुपैयाँसम्म कर्जा दिने निति बनाएको कोषका उपाध्यक्ष दंगालले जानकारी दिनुभयो ।

हालसम्म कोषको रकम मोरंग जिल्लामा करिव २५ करोड र सुनसरी जिल्लामा १८ करोड लगानी भएको जनाइएकोछ ।