पेट्रोल अभाव भोलिसम्म हट्छ’

विप्लव काफ्ले
चितवन, ८ कात्तिक । पर्याप्त पेट्रोलियम पदार्थ आयात नभएपछि चितवनका पेट्रोल पम्पमा उपभोक्ताको लाम लागेको छ । पेट्रोल अभाव देखिएपनि १÷२ दिनमै सहज हुने चितवन पेट्रोलिय डिलर्स एशोसिएशनले दावी गरेको छ । मंगलबार साँझ चितवनका पम्पमा भित्राइएको पेट्रोल सकिएपछि अधिकांशले ‘पेट्रोल छैन’ भनेर बन्द गरेका छन् ।
“नाकाबन्दीका बेला जस्तो समस्या हुँदैन”, जिल्ला अध्यक्ष ईश्वरी भट्टराईले भने, “शुक्रबारदेखि अभाव पूर्णरुपमा हट्छ ।” उनका अनुसार ४ दिनलाई पुग्ने पेट्रोल एकैदिनमा खपत हुँदा समस्या भएको बताए । “दशंैमा अधिकांश निजी सवारीमा ओहरदोहर गरेको अवस्था थियो”, उनले भने, “पम्प ४ दिन बन्द भए, मौज्दात भएको तेलपनि सकियो, त्यही भएर अभाव देखिएको हो ।”
चितवनमा करिब ५५ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । जिल्लामा साधरणतया दैनिक १ लाख ५० हजारदेखि १ लाख ८० हजार लिटरसम्म पेट्रोलियम पदार्थ खपत हुने गर्छ । “दशैंमा ट्यांकर नचल्दा अभाव देखिएको हो”, उनले भने, “बुधबार राति अमलेखगञ्जबाट तेल लोड भएपछि शुक्रबारदेखि अभाव हुँदैन ।” पेट्रोलियम पदार्थ लोड गर्न ट्यांकर बरौनी र रक्सौल पुगिसकेकाले अभाव धेरै दिन नहुने उनले दावी गरे ।
“जिल्लाका ग्रामीण क्षेत्रका पम्पमा सहज हुन केही दिन लाग्ला”, उनले भने, “तर, राजमार्ग आसपासका पेट्रोलपम्पमा छिट्टै सहज हुन्छ ।” नेपाल आयल निगमको बाराको अमलेखगञ्जस्थित डिपोमा समेत तेलको मौज्दात नभएपछि दशंैका बेला अभाव भएको हो । “चितवनका पेट्रोल पम्पमा समेत मौज्दात क्षमता कम छ, नियमित तेल आयात नहुँदा अभाव सिर्जना हुने गर्छ”, अध्यक्ष भट्टराईले भने, “तर, ट्यांकर चालक दशैं मनाएर काममा फर्किसकेकाले यो समस्या धेरै दिन रहदैन ।” पम्पमा डिजेल मौज्दात पर्याप्त छ । अमलेखगञ्जबाट तेल बोकेका ट्यांकर चितवन करिब ५ घण्टामा आइपुग्छन् । मोटरसाईकल तथा कार दशैंमा बढी चलेकाले मागसमेत बढेको हो । ठूलाभन्दा साना सवारी दशंैमा बढी चलेका थिए ।