दशैंपछि सरकारका मन्त्रीहरु हेरफेर गर्दै प्रम ओली, को को हुदैँछन् इन्ट्री र आउट ?

काठमाडौं, ४ कार्तिक । सरकारले सोचे जस्तो गती लिन नसकेपछि  प्रधानमन्त्री ओली पछिल्लो समय सकारका मन्त्रीहरु परिवर्तन गर्ने सोचामा पुगेका छन् । दशैंपछि सरकारका मन्त्रीहरु हेरफेर गर्ने सोचमा रहेका प्रधानमन्त्री ओलीले आफ्ना केही मन्त्रीहरु हटाउने तयारीमा लागेको श्रोतले बतायो ।

सम्भवतः आज (आइतबार) बस्ने नेकपाको सचिवालय बैठकमा यसबारे छलफल हुनेछ । प्रधानमन्त्री ओली मन्त्रीहरुको कार्यक्षमता नहुँदा सरकारले नतिजा दिन नसकेको ठम्याईमा छन् । तर, सरकारका अधिकांश मन्त्रीहरु भने नतिजा नआउनुमा प्रधानमन्त्री नै मूख्य रुपमा जिम्मेवार भएको ठान्छन् ।प्रधानमन्त्री ओली मूख्यतः पूर्वमाओवादी मन्त्रीहरुसँग रुष्ट देखिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई यसअघि नै हटाउन तम्सिएका ओली प्रचण्डको आग्रहका कारण पछि हटेका थिए । तर, अहिले फेरि गृहमन्त्री फेर्ने मनस्थितिमा ओली रहेको बताइएको छ ।शालिन स्वाभाव, आफूलाई सही लागेपछि कसैको हस्तक्षेप स्वीकार नगर्ने कार्यशैलीका बादलले प्रधानमन्त्रीको ईच्छाअनुसार काम नगरेपछि उनलाई हटाउने प्रयास गरेको बादलनिकट नेताहरु बताउँछन् । प्रधानमन्त्री ओलीले राम्रो काम गर्नेभन्दा पनि आफ्नो स्वार्थअनुकूल काम गर्ने मन्त्रीहरुलाई रुचाउन थालेका छन् ।पूर्वमाओवादी नेताहरु भने सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा, अर्थमन्त्री युवराज खतिवडा र यातायात तथा पूर्वाधार मन्त्री रघुबीर महासेठको कार्यशैलीप्रति असन्तुष्ट छन् । यी मन्त्रीहरुका कारण ओली सरकारले गति लिन नसकेको उनीहरुको दावी छ ।अर्थमन्त्रीले अलोकप्रिय बजेट ल्याएका कारण सरकार बदनाम भएको उनीहरुको तर्क छ । बाँस्कोटा र महासेठ आर्थिक लेनदेनका मुद्दामा जोडिएको र सुशासनमाथि दख्खल पुगेको धेरैको विश्लेषण छ । त्यसो त पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि ओली सरकारका विवादित मन्त्रीको सूचिमा छन् ।यता प्रधानमन्त्री भने उर्जामन्त्री वर्षामान पुन, उद्योगमन्त्री मातृका यादव र बनमन्त्री शक्ति बस्नेतसँग पनि असन्तुष्ट रहेको बताइन्छ । प्रधानमन्त्री ओलीसँग कुनै पनि मन्त्रीले सवाल जवाफ नगर्ने, थापा, पुन, यादव र बस्नेतले मात्र तर्कसहित उनका कुराको खण्डन गर्ने कारण ओली असन्तुष्ट रहेको बताइन्छ ।प्रधानमन्त्री ओली आफ्नो आलोचना सहँदैनन् । कसैले गरेको सानो आलोचनाको पनि खण्डन गर्छन् । उनी मन्त्रीलाई आफ्ना लाहाछापे कार्यकर्ता मात्र ठान्दा समस्या आएको एक मन्त्रीले बताए । कुरा मात्र गर्ने र आफ्नो हठ लाद्ने प्रधानमन्त्रीको स्वाभाव नै समस्या भएको उनी बताउँछन् ।प्रधानमन्त्री भने यी मन्त्रीहरुले आफ्नो आदेश नमानेको र सन्तोषजनक काम गर्न नसकेको ठम्याईमा छन् । त्यही कारण उनीहरुलाई हटाएर नयाँ मन्त्री ल्याउने उनको तयारी छ । तर, यसबारे आधिकारिक निर्णय भने भइसकेको छैन, जुन त्यति सजिलो पनि छैन ।नेकपाका अध्यक्ष प्रचण्डले सरकारले गियर बदल्नुपर्ने सार्वजनिक धारणा राख्दै आएका छन् ।