भिरबाट लडेर महिलाको मृत्यु

 

म्याग्दी, ३ कात्तिक ।  म्याग्दी रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँस्थित ढाडेगौडाको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्युहुनेमा अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरबाट श्रीमान् र छोरीसहित कोटगाउँस्थित माइतीघर जाँदै गरेकी पुनको बाटोबाट १५० मिटर तल खसेर मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो ।

बिहीबार राति भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याई परीक्षण गरेर आज आफन्तको जिम्मा लगाइएको पनि उहाँले बताउनुभयो ।  (रासस)