भक्तपुरमा सेतो घोडा जात्रा

भक्तपुर,  कात्तिक ३ ।  तलेजु भवानीका वहानको प्रतीक सेतो घोडाको जात्रा सम्पन्न भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीमा पर्ने गरी दशमीकाे मध्यरातमा गर्ने परम्परा रहेको छ।

जात्राअगाडि तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरिन्छ।

पूजा सम्पन्न भएपछि  घोडालाई विधिवत रुपमा पूजा गरी भेडा बलि दिइन्छ। र, भक्तपुर नगरमा घुमाएर घोडाजात्रा सुरु गरिने तलेजुका पूजारी नरेन्द्र जोशीले जानकारी दिए।

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरवार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरवार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ।