तीन बर्षमा डेढ सय महिला–बालबालिका हराए

राजकुमार पराजुली

काभे्रपलाञ्चोक, १ कात्तिक । काभे्रपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् ।सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १४५ जना फेला परेका छैनन् ।

आव २०७२/०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार आव २०७२/०७३ मा १११ , २०७३/०७४ मा १०९, आव २०७४/०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ ।

हराएका ३९६ महिला तथा बालबालिकामध्ये महिला १५८, बालक २६ र बालिका ५७ जना फेला परेका हुन् । प्रनाउ गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताउनुभयो ।

उहाँका अनुसार हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन् भने अन्य आफन्तकै पहलमा भेटिएका छन् । पछिल्ला केही वर्षदेखि काभे्रपलाञ्चोकबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रहरीले यस्तो युनिट बनाओस् जसले हराएकाको मात्रै खोजी गरोस् ।” रासस