दशैंको सुखद अनुभव 

 

डा. अरुण सेढाईँ चितवन मेडिकल कलेज, भरतपूर, चितवन

हिंजो बेलुका सोसल मिडियामा आँखा दौडाउँदै थिएँ- ‘फ्रेन्ड रिक्वेस्ट’ आएको रहेछ। हत्तपत्त म अपरिचित नामबाट आउने ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार्दिन- मेरो कमजोरी। उताबाट बेलिविस्तार आयो- “डाक्टरसाप नमस्कार! म अन्जल थापा, हजुरले १० बर्षअघि धुलिखेलमा सर्पले टोकेको उपचार गर्नुभएको भाइ”। यो भनाइले तुरुन्त ‘फ्ल्यासब्याक’ गरायो, झिलिक्क दिमागको ट्युबलाइट बल्यो र एक निमेषमा रिक्वेस्ट एक्सेप्ट गरें र धूमिल सम्झनालाई पुनर्ताजगी गरें।

० ०———————००००००००—————०००००००००—————०००००००००————-00000

साथी पंकज र म भर्खर भारतको मेंगलोरबाट एमडी सक्काएर धुलिखेल अस्पतालमा काम गर्न थालेका थियौं। दशैंको छुट्टी शुरू भइसकेको थियो, तर अस्पतालमा ड्युटी गर्ने डाक्टरको अभावले गर्दा दशैं मान्न लमजुँग घर जान नमिल्ने परिस्थिति आयो। विगतका केही वर्षहरूमा समेत देश बाहिर भएकोले दशैं मान्न नपाएको मलाइ यस पाली पनि दशैं मान्न नपाइने पीरले छोपेको त थियो नै, तैपनि आफ्नो पेशाको बाध्यतै यस्तै हो भनेर मन बुझाउनुको विकल्प पनि त केही थिएन नि।

अष्टमीको दिन १० बजेतिर म वार्ड राउण्ड गर्दै थिएँ, एकजना ११ बर्ष जतिको बाबुलाई सर्पले टोकेर अस्पतालको इमरजेन्सीमा ल्याइएछ। शुरूमा त पहाडको ठाउँ, सामान्य अविषालु सर्पको टोकाइ होला भन्ने सोचाइ भयो र त्यही अनुसार उसको बुवालाई नआत्तिने सल्लाह दिएँ। तर पनि आधारभूत ल्याब परीक्षण त गर्नैपर्थ्यो नै, रगत निकालेर ल्याबमा पठाउन लगाएँ।

सर्पको टोकाई दुई प्रकारका हुन्छन्- एउटा न्यूरोटक्सिक (जसमा स्नायू प्रणालीमा असर गर्छ, कोब्रा र करेत जातका सर्पले टोकेमा यो समस्या देखिन्छ) र अर्को हेमाटोटक्सिक (यसमा रगत पातलो भएर असामान्य रुपमा बग्छ र भाइपर प्रजातिका सर्पले टोकेमा यो समस्या देखा पर्दछ)। पहाड तिरका प्राय सर्पहरू अविषालु नै हुन्छन्, तर ग्रीन पिट भाइपर जातको सर्प, (जसलाई हाम्रो गाउँघरमा हरेप वा हरेउ सर्प पनि भनिन्छ), ले टोकेमा रगत पातलो बनाएर समस्या निम्त्याउन सक्दछ।

मेरो अनुमान सही निस्क्यो- ल्याब रिपोर्टमा रगत असामान्य रुपमा पातलो भएको नतिजा आयो- जुन ग्रीन पिट भाइपर जातिको सर्पले टोकेमा देखिने खराब असर थियो। अब सर्पको विषको विरूध्दमा दिइने औषधी (एन्टी स्नेक भेनम) दिनुको विकल्प थिएन। बिरामीलाई तुरुन्त सघन उपचार कक्ष (आइसियू) मा सारियो।

भाग्यवश, अस्पतालमा जनस्वास्थ्यले उपलब्ध गराएको एन्टी स्नेक भेनमका केही भायलऔषधीको मौजूदा रहेछ। कहिलेकाहीं, सर्पको विष कम गर्न दिइने औषधी दिइँदा कसै कसैमा यसले ज्यादै खराब रियाक्सन गरिदिन सक्छ र यो आफैंले ज्यान लान पनि सक्दछ। तसर्थ आफैं खटेर टेस्ट डोज (औषधीको खराब असर हुन्छ कि हुँदैन भनेर छालामा थोरै औषधी दिएर गरिने परीक्षण) दिएर हेरें, र कुनै खराब असर नदेखिए पछि, बिस्तारै पुरै औषधी शुरु गरियो ।

शुरूमा रगतमा देखिएको पातलोपनामा सुधार भयो कि भएन भनेर बीच बीचमा रगतको जाँच गर्दै औषधीको मात्रा मिलाउँदै गर्नु त छँदै थियो। एवं रीतमा उपचार गर्दा तीन दिन लागिहाल्यो। यता विरामीको उपचार गरी सक्दा उता पत्तै नपाई दशैं पनि सकिइसकेको थियो। दशैं मनाउन नपाएको खल्लोपनालाई समयमै उपचार गरेर विरामीको ज्यान बचाउन पाएको सफलताले जितेको थियो।

————०००००००००००————-०००००००००००————-

यसरी उपचार गरेको अन्जल थापाले यतिका वर्ष पछि दशैंको मुखमा सम्झना गर्दा मन प्रफुल्लित नहुने कुरै थिएन। “अहिले के गर्दै छौ बाबु तिमी?”- मैले सोधें। “सर, म अहिले, इन्जिनियरिँग पढ्दैछु”- उसले भन्यो। ओहो, त्यसरी दशैंको माया मारेर उपचार गरेको बच्चो आज इन्जीनियर बन्न लागिसकेको छ। मेरो यसपालीको दशैंको लागि यो भन्दा सुखद समाचार र उपहार अरू के नै हुन सक्थ्यो र ?