मेयर बरालद्धारा वडा दशैँको शुभकामना व्यक्त

राप्ती,३० असोज । पुर्वी चितवनको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले वडा दशैं, तिहार र छैठको शुभकामना दिनु भएको छ । मेयर बरालले एक शुभकामना सन्देश प्रेसित गर्दै सम्पूर्ण नगरबासी तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।

सबै जातजाति तथा धर्मावलम्बीहरुको साझा फुलबारीको प्रतिकको रुपमा रहेका चाडपर्वहरुले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय एवं भाषिक विविधतालाई एकआपसमा गाँसेर सामाजिक सद्धभाव, राष्ट्रिय एकता र नेपालीको साझा पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको सन्देशमा उल्लेख छ । जातिय, भाषिक तथा सांस्कृति विविधताले भरिएको नेपालमा अमूल्य नीतिका रुपमा रहेका विशिष्ट परम्पराहरु, अनुपम सांस्कृतिक, वैभव, धरोहर र सहिष्णुताका उदाहरण बनेर स्थापित भएको उहाँले उल्लेख गर्नुभएको छ ।
नेपालीहरुको विशेष चाडका रुपमा मनाइँदै आएको वडा दशैंले हिमाल, पहाड, तराई, मधेसलाई जोड्ने काम गरेको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, ‘विभिन्न जातजाति, वर्ण, भाषा धर्म तथा सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका नेपालीहरुको लागि समान अवसरको द्धार खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्धभाव तथा जातजाति समुदायका बीच आपसी भात्रृत्व कायम गर्न विजया दशमीले सफलता मिलोस ।’ उहाँले नेपालको संविधानमार्फत प्राप्त राजनैतिक, संवैधानिक तथा सामाजिक उपलब्धीहरुलाई अधिकतम उपयोग गर्दै नगरको विकास एवं समृद्धिका लागि सबैको योगदानले समृद्ध नगर निर्माणको अभियानमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राप्ती नगर प्रमुख प्रभा बरालले विजया दशमीले सबैलाई सकारात्मक सोंच, सद्विचार र सहिष्णुतातर्फ लाग्न प्रेरणा प्राप्त होस भन्ने कामना पनि गर्नुभएको छ ।