नवलपरासीमा छुट्टा छुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

 

कावासोती,२८ असोज । नवलपरासीमा आज भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् ।

आज दिउँसो लु २ त ६६ ७८ नम्बरको ट्याक्टर ज्यामिरे स्थित भित्रि सडक खण्डमा आफै अनियन्त्रीत भई बाटो देखी पन्ध्र मिटर तल खोलामा खस्न जादाँ ट्याक्टर चालक नवलपरासी प्रतापुर गाउँपालिका ४ बस्ने २६ बर्षका कर्णविर यादव र विनयी त्रिवेणी गाउँपालिका १ खोरखोला बस्ने १४ वर्षका बालक दुर्गा परियारको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताउनु भयो । १४ वर्षिय बालक सहचालकको रुपमा रहेको उहा“ले बताउनुभयो ।

दुर्घटनामा परि प्रतापुर ४ बस्ने १७ बर्षका अर्जुन चौधरी र १६ बर्षका सर्वण कोहार घाइते भएका छन् । घाइते दुवैको चोरमारामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आजै नवलपरासीको गैडाकोट नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा दुई वटा ट्रक एक आपसमा ठोक्किदाँ तिन जना घाइते भएका छन् । गैडाकोट ३ थुम्सिमा ना ६ ख ४३४३ नम्बरको ट्रक र ना १ क ७१ ३३ नम्बरको ट्रक एक आपसमा ठोक्किदाँ बारा जिल्ला सिमरा बस्ने ७१ ३३ नम्बरको ट्रक चालक २८ बर्षका भुपराज अधिकारी, ट्रकमा सवार सोहि स्थान बस्ने बर्ष २२ का राम अधिकारी र २१ बर्षका आकास सिहं घाइते भएका छन् । घाइते तिनैजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।