रत्ननगर खानेपानीमा भिष्मराज पौडेल निर्वाचित,बागी उम्मेदवारी दिने नेकपाका चार सदस्य निलम्वित

चितवन २६ असोज । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा भिष्मराज पौडेल सहित नेकपाको प्यानलै विजयी भएको छ । विहीवारराती सम्पन्न मत गणना अनुसार पौडेलले निकटतम प्रतिद्धन्द्धी विश्वनाथ खनाललाई ३२ मतान्तरले पछि पार्दै पौडेल आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएको हुन ।

कुल खसेको ४४८ मत मध्ये पौडेलले २३० र खनालले १९८ मत प्राप्त गरेका थिए । खानेपानीको कार्यसमिति र लेखा समिति चयनका लागि नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस समर्थक उपभोक्ताहरु छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । नेपाली काँग्रेस समर्थक उपभोक्ताहरुलाई अन्य साना दल समर्थक उपभोक्ताहरुको पनि साथ रहेको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भइ बनेको नेकपा एक्लै निर्वाचनामा होमिएको थियो । खानेपानीको उपाध्यक्षमा नेकपाकै रामहरि अधिकारी,सचिवनमा कृष्णप्रसाद नेपाल,कोषाध्यक्षमा विष्णु पौडेल र खुल्ला सदस्यमा ओमलाल सापकोटा,भरतबाबु भट्टराई,निर्मला दंगाल तथा लेखा समिति संयोजकमा ओलराज भट्ट,सदस्यमा केशव प्रसाद बगाले र जीवनलाल नगरकोटी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बाबुलाल रेग्मीले जानकारी दिए ।
यसैबीच रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा बागी उम्मेदवारी दिने ४ जनालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले निलम्बन गरेको छ । पार्टी निर्णय विपरित खानेपानीको पदाधिकारी,कार्यसमिति सदस्य र लेखा संयोजक पदमा बागी उम्मेदवारी दिनेलाई पार्टीको सदस्यबाट निलम्बन गरेको हो । सचिव पदमा बागी उम्मेदवारी दिएका राजेन्द्र न्यौपाने,कार्यसमिति सदस्य पदमा बागी उम्मेदवारी दिएका कृष्णप्रसाद डोटेल,चन्द्रकान्त ओझा र लेखा समिति संयोजक पदमा बागी उम्मेदवारी दिएका प्रताप डल्लाकोटीलाई पार्टी सदस्यबाट निलम्वन गरिएको हो । नेकपा रत्ननगरले विहीवार साझ विज्ञप्ती जारी गरी न्यौपाने,डोटेल र डल्लाकोटीलाई ९ महिना र ओझालाई ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । नेकपा रत्ननगरका संयोजकद्धय रामशरण कुँवर र राजु अम्गाईद्धार हस्ताक्षरित विज्ञप्तीमा विपक्षी दलसंग साठगाठ गरी पार्टीका आधिकारिक उम्मेदवार पराजित गराउने खेल खेलेको ठहर गर्दै उनीहरुलाई निलम्बन गरेको उल्लेख छ ।

न्यौपाने तत्कालिन नेकपा एमालेका पूर्व नगर कमिटी सदस्य,डोटेल क्षेत्रीय कमिटी सदस्य,ओझा संगठित सदस्य र डल्लाकोटी पूर्व क्षेत्रीय कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रीय सदस्य हुन । पार्टीले बागी उम्मेदवारी दिनेको प्रस्तावक तथा सर्मथकलाई पनि स्पष्टिकरण सोच्ने विज्ञप्तीमा जनाइएको छ ।