भोलिदेखि नारायणगढमा स्वरोजगार सस्तो बजार दसैँ रमाइलो मेला

चितवनव, २५ असोज । नारायणगढको बालकुमारी कलेज अगाडि रहेको स्वरोजगार सस्तो बजारले दसैँ रमाइलो मेलाको आयोजना गरेको छ ।
सो स्वरोजगार बजारदेखि सञ्चालमा आएको भएपनि उपभोक्ताहरु बजारमा नआएकाले बजारको प्रचार प्रसार गर्नका लागि स्वरोजगार सस्तो बजार दसैँ रमाइलो मेला गर्न लागिएको आयोजकले जनाएको छ । भोलि शुक्रबारदेखि सुरु हुने रमाइलो दसैँ मेला आगामी असोज ३० गतेसम्म सञ्चालन हुने मेला संयोजक उषा खड्काले बताइन् । दसैँ रमाइलो मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुका साथै बाल उद्यान समेत सञ्चालन गरिने स्वरोजगार सस्तो बजार समितिका सल्लाहकार महानन्द न्यौपानेले बताए ।
मेलाको अवसरमा बद्री पंगेनी, रमेशराज भट्टराई, कमल खत्रीलगायतका राष्ट्रिय कलाकारको उपस्थित रहने तथा असोज ३० गते द एक्स ब्याण्डको विशेष प्रस्तुती रहने न्यौपानेले बताए । दसैँ मेलामा प्रवेशका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीहरुलाई ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो स्वरोजगार सस्तो बजारमा फलफूल, तरकारी, लत्ताकपडा, फेन्सी कपडा, रेडिमेड कपडा, जुत्ता, चप्पल सहित सबै प्रकारका अत्यावश्यक सामग्रीहरु बिक्री वितरण हुँदै आएको छ ।