सरकारको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन, २३ असोज । समाजमा पछिल्लो समय भएका घटनाहरुलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु, बलात्कारका घटनाहरु दिनहुँ बढ्दै जानु, एसिड आक्रमणमा परेका व्यक्ति उपचार खर्चको अभावमा मर्नु जस्ता घटनाले सरकारको कार्यशैलीमाथी प्रश्न उठेको भन्दै राजपा नेपाल चितवनले सोमबार ज्ञापन पत्र बुझाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा महंगी बढ्नु, कालोबजारी नियन्त्रण हुन नसक्नु, कैलाली १ बाट निर्वाचित रेशम चौधरीलाई शपथ नगराइनु अपराधिक घटनामा संलग्न रहेका व्यक्तिलाई कारबाही नहुनुमा राजपा नेपालको गम्भीर आपत्ति रहेको उल्लेख गरिएको छ ।
राजपाले उठाउँदै आएको मुद्दाहरुलाई सरकारले गम्भीरतापूर्वक नलिएमा सरकारका विरुद्धमा संघर्ष गर्दै आन्दोलनको बाटोमा धकेलिन बाध्य हुने राजपा नेपाल चितवनका अध्यक्ष अध्यक्ष प्रेम कुमार श्रेष्ठले बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले जिल्लामा सुरक्षा सतर्कता मजबुत बनाइने बताए ।
यसैबीच, नेपाली काँग्रेस परित्याग गरेर मानबहादुर मगरातीले राजपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेसँगै मगरातीलाई राजपा चितवनको दलित संघ जिल्ला अध्यक्षको जिम्मा दिइएको राजपा चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।