नेविसंघ चितवनको विवाद सतहमा, जताततै विवादै विवाद

चितवन, २३ असोज । निकै पहिला देखि विवादित रहदै आएको नेविसंघ चितवनमा यतिवेला झनै विवाद चुलिएको छ ।
नेविसंघको नाममा एउटै क्याम्सका छुट्टाछुटै समितिवाट शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम भएका छन् । ति छुट्टा छुट्टै कार्यक्रमलाई जिल्लास्तरका छु्ट्टाछ्ट्टै नेताहरुले सहयोग र समर्थन गर्दै आएको पाइएको छ ।

चितवनका स्ववियु निर्वाचन हुने अधिकांश कलेजहरुमा नेविसंघका दुई वटा समिति भए पनि भरतपुर स्थित वीरेन्द्र वहुमुखी क्याम्पस र रत्ननगर स्थित शहिद स्मृति क्याम्पसमा दुवै समिति क्रियाशिल हुँदा विवाद चुलिएको हो । सोमवार मात्रै शहिद स्मृति क्याम्पस टाँडीमा छुट्टा छुट्टै नेविसंघ इकाई समितिको नाममा एकै दिन छुट्टा छुट्टै कार्यक्रम भएको छ । उक्त क्याम्पसमा अनुप थापा र विवेक श्रेष्ठको अध्यक्षतामा दुई कार्यक्रम भएका हुन् ।

पुरानो सर्वसम्मत अध्यक्ष थापालाई नेविसंघ चितवनका नेता परमेश्वर खनालको समर्थन रहेको छ भने श्रेष्ठलाई नेविसंघ चितवनका अध्यक्ष सुर्य ढकालको समर्थन रहेको छ । पुरानो इकाई समिति हुँदा हुँदै नेविसंघ चितवनका अध्यक्ष ढकालले चिठि लेखेर श्रेष्ठलाई इकाई अध्यक्ष वनाए पनि श्रेष्ठको कार्यसमितिमा अरु कोहि नभएको वुझिएको छ । यसरी एउटै क्याम्पसमा दुईथरि कार्यक्रम हुँदा नेविसंघ मात्रै नभएर चितवन काँग्रेस समेत विभाजित भएको छ । यस्ता दुई समुहका कार्यक्रममा नेविसंघका नेता मात्र नभई जिल्ला एवं केन्द्रका पार्टी नेताहरु समेत विभाजित हुँदा समस्या उत्पन्न भएको हो ।

उक्त क्याम्पसमा मात्रै नभई विरेन्द्र वहुमुखी क्याम्पसमा पनि त्यो भन्दा चर्को विवाद देखिएको छ । नेविसंघ वीरेन्द्र वहुमुखी क्याम्पसको नाममा पनि पछिल्लो समय दुई छुट्टा छुट्टै कार्यक्रम भएका छन् । नेविसंघ वीरेन्द्र इकाइको नाममा वचन कार्की र अनमोल अधिकारीको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रम भएको हो । उक्त कार्यक्रममा कर्कीलाई विद्यार्थी नेता खनाल र संसद मिलनवावु श्रेष्ठको समर्थन रहेको छ भने अधिकारीलाई नेविसंघ जिल्ला अध्यक्ष ढकाल र जिल्ला सभापति जीतनारायण श्रेष्ठको समर्थन रहेको छ । नेविसंघ विवादको मुख्य जड भनेको नेविसंघका नेता खनालले ढकाललाई जिल्ला अध्यक्ष नमान्नु हो ।

नेविसंघ चितवनमा भने खनाल नेतृत्वको समुहलाई पुर्व जिल्ला पार्टी सभापति टेकप्रसाद गुरुङ, पुर्व सांसद शेषनाथ अधिकारी, एकनाथ रानाभाट, महासमिति सदस्य दिनेश कोइराला, प्रकाश अधिकारी, राजेश्वर खनाल, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, विद्यार्थी विभागका प्रमुख किरण ओली, नगर सभापति रुपनराज घिमिरे, नेविसंघ केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारी, निलकण्ठ रिजाल, केन्द्रिय सदस्य कल्पना पौडेल लगायतको समर्थन रहेको छ । यसैगरी ढकाललाई नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, प्रवत्ता निता ढकाललगायतको समर्थन रहेको छ । यसरी विद्यार्थीको क्याम्पस इकाईलाई समर्थन गर्ने क्रममा काँग्रेसका नेताहरु नै विभाजित हुनु विडम्वना भएको सुभेच्छुक वताउछन् ।