भरतपुरमा आगलागी हुँदा लाखौँको क्षति

चितवन, २३ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोडमा आगलागी भएको छ । नारायणी सामुदायिक अस्पताल अगाडि रहेको होटल तथा प्रोभिनल स्टोरमा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
सोमबार राति करिब ९ः४५ बजे आगलागी हुँदा होटल छहारी, पौडेल दूध डेरी एवम् प्रोभिनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । भरतपुर महानगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दूरीमा रहेको घटनास्थलमा महानगरपालिकाको बारुणयन्त्र (दमकल)आउन ढिला हुँदा आगलागीबाट धेरै क्षति भएको स्थानीयको भनाइ छ । नवलपुरको कावासोती नगरपालिका तथा भरतपुर महानगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राति ११ः२० मा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट एक तले टिनको घर तथा होटल र पसलमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । होटलको ग्यास लिक भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब निरीक्षक प्रभुप्रसाद ढकालले बताए । आगलागीबाट भएको क्षति विवरण प्राप्त नभएपनि लाखौँ रुपैयाँको क्षति भएको हुनसक्ने प्रहरीको भनाइ छ ।
छहारी होटलका सञ्चालक डिल्लीप्रसाद कंडेल र भीमप्रसाद कंडेल तथा पौडेल दूध डेरी एवम् प्रोभिजनल स्टोरका सञ्चालक मनोज जोशी रहेका छन् । उनीहरुको बयानको आधारमा क्षतिको विवरण प्राप्त गर्न सकिने प्रहरीले जनाएको छ । दुर्गामणि पौडेलको घरमा आगलागी भएको हो ।