कुरुप बन्दै भरतपुर महानगरपालिका

आनन्द पोखरेल
चितवन, २३ असोज । बजार क्षेत्रमा जथाभावी राखिएको विभिन्न व्यावसायिक होर्डिङ बोर्ड तथा व्यानरहरुले भरतपुर महानगरपालिका कुरुप बन्दै गइरहेको छ । बजारमा अनाधिकृत रुपमा राखिएका व्यावसायिक होर्डिङ बोर्डहरु केही वर्ष अगाडि भरतपुर नगरपालिका हुँदा हटाइएको भएपनि यसले निरन्तरता पाउन नसक्दा बजारको सुन्दरता हराउँदै गइरहेको हो ।
भरतपुर नगरपालिका हुँदा तत्कालिन कार्यकारी अधिकृत नारायण सापकोटा आफै बजारमा गएर होर्डिङ हटाउँदै हिडेका थिए । बजार क्षेत्रबाट होर्डिङ बोर्ड हटाइदा केही समय भरतपुरको सुन्दरता थपिएको भएपनि सापकोटाको सरुवासँगै अभियानले निरन्तरता पाउन सकेन । सापकोटा सरुवा भएर अन्यत्र गएसँगै त्यसपछि आएका कार्यकारी अधिकृतहरुले बजार क्षेत्रको सुन्दरतालाई ध्यान दिन नसक्दा बजार नै कुरुप हुने गरि जथाभावि होर्डिङ बोर्ड राख्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
भरतपुर नगर क्षेत्र भित्र कति मात्रामा होर्डिङ बोर्ड राखिएका छन् भन्ने विषयमा नै महानगरपालिका अनविज्ञ रहेको छ । बजारको सौन्दर्य नै हराउने गरि भरतपुरका मुख्य बजार क्षेत्रमा व्यापारिक होर्डिङ बोर्डहरु राख्न नहुने स्थानीय बासिन्दा बताउँछन् । शहरमा सूचनामूलक, जानकारीमूलक चिन्हहरु राख्दा फाइदा हुने भएपनि अनावश्यक रुपमा व्यावसायिक होर्डिङ बोर्ड राख्दा शरहको सुन्दरता हराएको भरतपुर २ का भरत खनाल बताउँछन् ।
व्यापारिक होर्डिङ बोर्डहरु हटाएर सुन्दर भरतपुर बनाउनका लागि महानगरपालिकाले चासो दिनुपर्ने खनालको भनाइ छ । ‘भरतपुर भनेको देशकै केन्द्रीय सहर हो, यहाँ सबै ठाउँका मान्छेहरु आउने गर्दछन्’ खनालले भने, –‘सफा, सुन्दर, हराभरा भरतपुरको परिचय दिनको लागि हामीले कञ्जुस्याईँ गर्नु हुँदैन, त्यसैले नगरमा अस्वभाविक रुपमा रहेका होर्डिङ बोर्ड हटाउनुपर्छ ।’ जथाभावी होर्डिङ बोर्ड राखिदा सवारी चालकको ध्यान होर्डिङमा जाँदा समेत दुर्घटना बढ्न सक्ने भएकाले बजार क्षेत्रबाट हटाउनुपर्ने खनालको भनाइ छ ।
बिजुलीका पोलमा हुन् अथवा सार्वजनिक स्थानमा नै किन नहुन् जथाभावी राखिएका होर्डिङ बोर्डले बजार क्षेत्रको सौन्दर्य नै हराउँदै गएको छ । नगर क्षेत्रभित्र जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउँदै महानगरपालिकाबाट स्वीकृत लिएर मात्रै होर्डिङ बोर्ड राख्नका लागि व्यवस्था गरिएको महानगर बताउँछ । होर्डिङ बोर्डलाई व्यवस्थित बनाउनकै लागि भनेर महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य समेत गरेको भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्यालले बताए ।
अर्यालका अनुसार बजारको सौन्दर्य नबिग्रने गरि निश्चित ठाउँमा व्यवस्थित तरिकाले होर्डिङ बोर्ड राख्नका लागि निजी कम्पनीलाई ठेक्कामा दिइएको छ । भरतपुरमा होर्डिङ बोर्ड राख्नका लागि काठमाडौँको एडभरटाइजिङ युज प्रालिले महानगरपालिकालाई तीन वर्षको एक करोड एक लाख रुपैयाँ दिने गरि एक वर्ष अगाडि सम्झौता समेत भएको छ । प्रालिले महानगरपालिकाको दररेट भन्दा बढी रकम लिएर व्यावसायिक प्रतिष्ठानको विज्ञापन राख्न नपाउने अर्यालले बताए ।
अर्यालका अनुसार १२ स्क्वायर फिटसम्मको होर्डिङ बोर्डको प्रति स्क्वायर फिट एक हजार, त्यो भन्दा माथी ३० स्क्वायर फिटसम्म प्रति स्क्वायर फिट एक हजार पाँच, भित्ते लेखन प्रति स्क्वायर फिट २५ रुपैयाँ लिनुपर्ने गरि महानगरपालिकाले विज्ञापनको दररेट तयार गरेको छ । त्यस्तैगरि, पोल व्यानर एक हप्तासम्मको प्रति व्यानर तीन सय रुपैयाँ, लामो व्यानर बाटो वारपार राखेको प्रति हप्ता पाँच सय रुपैयाँ लाग्ने गरि महानगरपालिकाले दररेट कायम गरेको भएपनि हालसम्म अव्यवस्थित होर्डिङ हटाउन पनि सकेको छैन भने कुनै पनि होर्डिङ बोर्डबाट राजस्व समेत असुल भएको छैन ।
होर्डिङ बोर्डलाई व्यवस्थित बनाउनको लागि भनेर गरिएको ठेक्का सम्झौता समेत राम्रोसँग कार्यान्वयन हुन नसकेको महानगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए । होर्डिङ बोर्ड हटाएर बजारलाई व्यवस्थित बनाउनको लागि केही दिन लाग्ने भएपनि यसलाई प्राथमिकतामा राखेर काम सुवेदीको भनाइ छ । जथाभावी राखिएका होर्डिङ बोर्डले सहरलाई कुरुप बनाउनुका साथै दुर्घटनामा समेत वृद्धि गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।