प्रदेश ३ को स्थायी राजधानी संबिधान अनुसार : सभामुख श्रेष्ठ

हेटौंडा,२२ असोज । प्रदेश ३ का सभामुख सानूकुमार श्रेष्ठले संबिधान अनुसार नै प्रदेश तीनको स्थायी राजधानी तय हुने बताएका छन् ।सोमबार हेटौंडामा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै श्रेष्ठले प्रदेश ३ को स्थायी राजधानीको विषयमा उच्च अदालत पाटन हेटौंडा अदालतमा मुद्दा विचाराधिन रहेको भएपनि श्रेष्ठले प्रदेशको राजधानीको विषय अदालतको नभएको बताए । उनले प्रदेशसभालाई आफ्नो काम गर्न दिन आग्रह समेत गरे ।

 

सभामुख श्रेष्ठले अदालतले राजधानी सार्ने सम्बन्धमा स्टे अर्डर नदिएको कारण देखाउन मात्र भनेको बताए । जसले गर्दा प्रदेशसभामा छलफल गर्न कुनै समस्या नभएको दाबी गरे ।

अदालतमा मुद्दा विचारीधिन रहेको समयमा प्रदेश सभामा राजधानीको विषयले प्रवेश पाएपछि यसको आलोचना भएको छ । प्रदेश सभामा सर्वदलीय सहमति भएपछि नै राजधानीको विषय प्रवेश भएको उनको भनाइ थियो । सहमति मै प्रदेशको स्थायी राजधानी तोक्ने प्रयास भइरहेको बताउँदै उनले कुनै दल विशेषको इच्छा अनुसार प्रदेश बैठक सञ्चालन नहुने बताए ।
पत्रकार सम्मेलनमा सभामुख श्रेष्ठ र उपसभामुख राधिका तामाङले संयुक्त रुपमा ३ नं प्रदेश सभामा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पुस्तक र प्रदेश सभाको कार्यक्षेत्र र कानून निर्माणको पुस्तक विमोचन गरेका थिए । यी दुवै पुस्तक प्रदेश सभा सचिवालयले प्रकाशन गरेको हो ।