३ नम्बर मन्त्रिपरिषद्को बैठक : संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय

हेटौंडा, २२ असोज । ३ नम्बर प्रदेशको मन्त्री परिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्ष्तामा बसेको बैठकबाट मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले पेश गरेको संगठन संरचना र दरबन्दी सम्बन्धीसहित विविध निर्णय गरेको हो ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका सुरक्षा व्यवस्थापन योजना स्वीकृत गर्ने सम्बन्धमा, प्रहरी ईकाईहरुको भवन निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने सम्बन्धमा निर्णय गरेको छ । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको पयटन विकास आयोजना र आयोजना कार्यान्वनका लागि अस्थायी दरबन्दीको सैद्धान्तिक स्वीकृति सम्बन्धमा पनि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सरकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयले पेश गरेको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ र प्रदेश विकास स्वयम् सेवक परिचालन कार्यविधि, २०७५ पनि स्विकृत गरेको प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेलसहित, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापति, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख सचिव आनन्दराज ढकाललगायत सहभागि थिए ।