कार्तिक ३० देखी पूर्वी क्षेत्र महोत्सव हुने

चितवन, असोज २२ गते । आगामी कार्तिक ३० गतेदेखी मंसिर ११ गते सम्म रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव २०७५ हुने भएको छ ।
लायन्स क्लव अफ चितवन राईनो सिटीको आयोजनामा महोत्सव हुन लागेको हो । आयोजक लायन्स क्लव अफ चितवन राईनो सिटीले सोमवार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारे जानकारी गराएको हो ।
अत्यावश्यक रुपमा रहेको सव वहान संचालन, पूर्वी चितवन क्षेत्रमा कार्यरत संचारकर्मीहरुको संरक्षणका लागि पत्रकार संरक्षण कोष स्थापना, लायन्स असहाय वाल कोष स्थापना गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको लायन्स क्लव अफ चितवन राईनो सिटीका पुर्व अध्यक्ष एवंम महोत्सवका संयोजक निरज श्रेष्ठले वताए । महोत्सव सम्पन्न गर्नका लागि ९ सदस्यीय स्टेरिङ कमिटी, १ सय १ सदस्यीय मुल समिति गठन गरिएको छ ।


रत्ननगर ४ शान्तिचोक स्थित खुल्ला चौरमा हुने महोत्सवमा ३ सय वटा स्टल रहनेछ ।
श्रेष्ठका अनुसार महोत्सव अवधिमा शान्तिचोकमा फुटफेस्टिवल आयोजना गरिनुका साथै सामाजिक अभियन्ताहरुलाई सम्मान गरिने कार्यक्रम छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि भने ३० रुपैया कायम गरिएको छ । महोत्सवको घोषणासंगै वडादशै, र, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको थियो । लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष ओमलाल सापकोटाको अध्यक्षता तथा एमजेएफ राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।