चितवनमा भारतीय खसीबोका भित्रिने क्रम बढे

विप्लव काफ्ले
चितवन,२० असोज। चाडबाडलाई लक्षित गरेर चितवनमा भारतीय खसीबोका भित्रिने क्रम बढेको छ । सुनौली नाका हँुदै भित्रिएका खसीबोका चितवनका मासु पसलमा बिक्री गर्न करिब एक दर्जन एजेण्टहरु सक्रिय बनेका छन् । गतवर्षको तुलनामा यसवर्ष भन्सार तथा अन्य करमा भएको वृद्धिसँगै आयात गर्दा मूल्यसमेत बढी तिर्नुपरेको व्यवसायी बताउँछन् ।
६ वर्ष पहिले गठन भएको खसीबोका मासु व्यवसायी संघका अनुसार दशैंका बेला करिब १५ दिनमा करिब १५ हजार खसीबोकाको मासु बिक्री हुन्छ । संघका महासचिव गणेशप्रसाद कँडेल सोह्रश्राद्ध सकिएपछि मासुको कारोबार बढ्ने बताउँछन् । “प्रतिगोटामा करिब १ हजार रकम कमिसन बुझाउनुपर्छ”, उनले भने, “स्थानीय उत्पादनले बजार थेग्दैन, आयातित खसीबोकाकै भर पर्नुपर्छ ।” औसत १६ केजीका खसीबोका भित्रिने गरेको बताए ।
ढुवानी र कमिसन रकम बुझाउँदा आयातित खसीबोकाको मूल्य बढी परेको गुनासो गरे । “चाडबाडका बेला तीन गुणा बढी बिक्री हुन्छ”, उनले भने, “सामान्य पसलले समेत १०–१२ वटा खसी दैनिक काटेर बेच्छन् ।” संघमा खसीबोकाको मासु बेच्ने ९६ वटा पसल आबद्ध छन् । दशैंका बेला कुखुराको मासु खपत पहिलेको तुलनामा करिब १५ प्रतिशत मात्रै बढी हुन्छ । “दशैंमा प्रायः खसी बोकाकै मासुको माग हुन्छ”, उनले भने, “एकै दिनमा १ हजार खसीबोका खपत हुन्छ ।”

उनका अनुसार वार्षिक तथ्यांक केलाउँदा दैनिक २ सय ८८ वटा खसी बिक्री हुने आधारमा प्रति खसीबोकाको मूल्य १२ हजार रुपैयाँ मान्दा दैनिक ३६ लाख बराबरको कारोबार हुन्छ । तर, चाडबाडका बेला यो तथ्यांक तीन गुणा बढ्छ । उनी संगम चिकेन एण्ड मिट हाउसका सञ्चालक समेत हुन् । अन्य बेला दैनिक ४ वटा खपत हुन मुस्किल भएपनि चाडबाडका बेला १२ वटा सम्म सजिलै खपत हुने बताउँछन् ।
संघका पूर्वअध्यक्ष तथा मालिका फ्रेस हाउस हाकिमचोकका सञ्चालक उद्धवप्रसाद तिमल्सिना स्थानीय उत्पादन पर्याप्त नपाउँदा भारतीय खसीबोकाकै भर पर्नुपरेको बताउँछन् । “लोकल मासु खोज्न आउने पनि हुन्छन् । तर, सहजरुपमा स्थानीय खसीबोका बजारका पसलमा आइपुग्दैनन्”, उनले भने, “अन्य बेला नभएपनि चाडबाडका बेलालाई स्थानीय उत्पादनलेनै थेग्ने बनाउन स्थानीय सरकारले पहल गर्नुपर्छ ।” दशैको बेलामा मात्रै आफ्नो पसलमा करिव २ सय खसीबोका खपत हुने बताए । “स्थानीय उत्पादन स्थानीय बजारमै वा घरघरमै राख्ने प्रचलनन् छ”, उनले भने, “भारतबाट आयात नभएको अवस्थामा मासुको अभाव हुने सम्भावना बढी हुन्छ ।”
खसीबोकाको मासु बोसोसहितको प्रति केजी ८ सय र बोसोरहित मासुको ८ सय ५० देखि ८ सय ८० रुपैयाँसम्म पर्छ । उनले साउनमै कायम भएको मूल्यमै मासु बिक्री गर्न व्यवसायी सहमत भएको उनले बताए । स्थानीय खसीबोकाकोे तुलनमा भारतीय खसीबोकाको मासुको तौल बढी पर्ने मुनाफा बढी पाउने देखेर व्यवसायी भारतीय उत्पादनमै निर्भर हुन्छन् ।
कालिका नगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक सीताराम मरहठ्ठाले दशंै नजिकिएसँगै स्थानीय जिउँदो खसीबोकाको माग बढेको बताउँछन् । उनका अनुसार कालिका १० र ११ मा रहेको तीन दोभान सामाजिक उद्यमी महिला सहकारी मार्फत बुधबारसम्ममा ४ सय ३२ वटा (करिव ११ मेट्रिक टन) खसीबोका बिक्रि भएको बताए ।

सहकारीले यो अवधिमा ४४ लाख २४ हजार बराबरको कारोबार गरेको छ । गत वर्ष यो सहकारीले १ हजार ३ सय खसीबोका बिक्री गरेको थियो । आवद्ध सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमा मार्फत बिक्री वितरण हुँदै आइरहेको छ ।
“दाना चोक्कर नखाएका, चरिचरनमा आधारित खसीबोका खोज्दै गाउँ आउने उपभोक्ता धेरै छन्”, उनले भने, “पहाडी क्षेत्रमा चहलपहल बढेको छ ।” शक्तिखोरमा रहेको लगनशील सामाजिक उद्यमी महिला सहकारीले समेत खसीबोका बिक्रि वितरण सुरु गर्दैछ । चितवनका पहाडी क्षेत्रमा रहेका केही सहकारीले मूल्यनै निर्धारण गरेर खसीबोका बिक्रि वितरण गरिरहेका छन् । जिउँदो खसीबोकाको १९ केजीसम्मको प्रति केजी ३ सय ७० देखि ४ सय, २० देखि ३० केजीसम्मको प्रति केजी ३ सय ९० देखि ४ सय २०, ३० देखि ४० केजीसम्मको ४ सय ४० देखि प्रति केजी ४ सय १५ र ४१ केजीमाथिको प्रतिकेजी ४ सय २५ देखि ४ सय ६० रुपैयाँसम्मको मूल्य कायम गरेका छन् ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक चेतनारायण खरेलले चितवनमा खसीबोकाको मासुको उत्पादन बढाउनुपर्ने देखिएको बताए । “कुखुराको मासु बाहिरसमेत निर्यात भइरहेको छ । तर, खसीबोकाको मासु भारतबाट आयात भइरहेको अवस्था छ”, उनले भने, “यहाँको उत्पादनले पुगेको देखिदैन, आन्तरिक खपत, पहाडी क्षेत्रमा खसीबोका उत्पादन राम्रो भएपनि बजारमा खपत भएको पाइदैन ।” पशु सेवा विज्ञ केन्द्र चितवनका पशु सेवा प्राविधिक दीपचन्द्र घिमिरेले गत वर्षको तुलनामा खसीबोकाको उत्पादन बढेको भएपनि बजार क्षेत्रका मासु पसलमा भारतीय खसीबोकाकै किनबेच भैरहेको बताए ।
तत्कालीन पशु सेवा केन्द्रले संकलन गरेको तथ्यांक अनुसार ०७४/७५ मा चितवनमा ५ हजार ९ सय ८५ मेट्रिक टन खसीबोकाको मासु, राँघाको मासु ९ हजार २ सय ५१ मेट्रिक टन, सुंगुरको मासु १ हजार ५ सय ५६ मेट्रिक टन र कुखुराको मासु १३ हजार २ सय २८ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै अघिल्लो वर्ष चितवनमा ४ हजार १ सय ८३ मेट्रिक टन खसीबोकाको मासु उत्पादन भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण कुमार तिवारीले मासु पसललाई चाडबाडमा प्राथमिकतामा राखेर अनुगमन गरिने बताए ।