भरतपुरमा विपद् तथा जोखिम उत्थानशील योजना तर्जुमा विधि सम्बन्धी अन्तरक्रिया

चितवन, २१ असोज । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को आयोजना तथा भरतपुर महानगरपालिकाको समन्वयमा विपद् तथा जोखिम उत्थानशील योजना तर्जुमा विधि सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
आइतबार भरतपुरमा आयोजित अन्तरक्रियामा एनसेटका प्रतिनिधि विजय कृष्ण उपाध्यायले विपद्को तथा जलवायु सम्बन्धी विषयमा कार्यपत्र पत्र प्रस्तुत गरेका थिए । उपाध्यायले विपद् जोखिम व्यवस्थापनसँग सम्बन्धीत ऐन कानुन तथा अभिलेखहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । विपद् न्यूनीकरण सम्बन्धी स्थानीय तहले सबैलाई समेटेर कार्ययोजना निर्माण गर्नुपर्ने उपाध्यायको भनाइ थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुरमा विपद् व्यवस्थापन समितिको ऐन निर्माण भएको तर समिति गठन नभइसकेको बताए । स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका २०७५ ले सबै स्थानीय तहमा विपद् व्यवस्थापन सम्बन्धी समिति निर्माण गर्नका लागि निर्देशन दिएको छ । स्थानीय तहले ऐन बनाएर आफूलाई सहज पर्ने गरि समिति निर्माण गर्नका लागि बाटो खुला गरेको छ ।
आइतबार भएको सो अन्तरक्रियामा भरतपुर महानगरपालिकाका वडा अध्यक्ष, उद्योगी व्यवसायी, रेडक्रसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।