मिस्टर नेपाल २०१८ का विजेता श्रेष्ठलाई चितवनमा सम्मान

चितवन, २१ असोज । काठमाडौँमा भएको मिस्टर नेपाल वर्ल्ड २०१८ का विजेता चितवनका विकल्पराज श्रेष्ठलाई भरतपुरमा सम्मान गरिएको छ ।
एक्सपोज नेपालले असोज १३ गते काठमाडौँमा आयोजना गरेको मिस्टर नेपाल प्रतियोगितामा विजयी हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता मिस्टर वर्ल्डमा सहभागी जनाउने श्रेष्ठलाई आइतबार चितवनमा सम्मान गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका श्रेष्ठले फाइनल प्रतियोगितामा आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस्टर नेपाल वल्र्ड २०१८ को उपाधीसँगै फिलिपिन्समा हुने मिस्टर वल्र्ड प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् ।
ताज विजेता श्रेष्ठले नगद ५० हजार रुपैयाँसँगै मोटरसाइकल समेत प्राप्त गरेका थिए । नेपालमा भएका प्रतिस्पर्धामा भएको कमीकमजोरीलाई सुधार गर्दै फिलिपिन्समा हुने प्रतियोगितामा भाग लिने श्रेष्ठले बताए । मिस नेपालको चर्चा धेरै हुने भएपनि मिस्टर नेपाललाई छायामा पारिएको श्रेष्ठले बताए ।
श्रेष्ठलाई आइतबार भरतपुरमा कर्मा इभेन्ट्सले सम्मान गरेको हो । श्रेष्ठसँगै कर्माले इभेन्ट्सका सल्लाहकार निशान्त ढकाललाई समेत सम्मान गरेको छ ।