राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै चितवनमा एथलेटिक्सका खेलाडी छनौट

चितवन, २१ असोज । आगामी माघमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै चितवनमा एथलेटिक्स तर्फका खेलाडीहरु छनौट गरिएको छ ।
राष्ट्रिय खेलकुदमा खेलाडी सहभागी गराउने उद्देश्यले आइतबार भरतपुरमा एथलेटिक्स तर्फका विभिन्न खेलहरु भएका छन् । पुरुष तर्फको पाँच किलोमिटर दौड, महिलातर्फको तीन किलोमिटर दौड, पुरुष महिला दुवैको एक सय मिटर दौड, लङ जम्प, सटपुटका खेलहरुबाट खेलाडी छनौट गरिएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका खेलाडीहरुलाई पुरस्कारका साथै राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर दिइएको चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजाली मगरले बताउनुभयो । पाँच किलोमिटर दौडतर्फ विकास बस्नेत पहिलो हुँदै १० हजार, सावन तामाङ दोस्रो हुँदै सात हजार र कुसुम तामाङ तेस्रो हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, तीन किलोमिटर दौड तर्फ सञ्जु कुमाल पहिलो हुँदै १० हजार, रेनु सुनार दोस्रो हुँदै सात हजार र मुना गुरुङ तेस्रो हुँदै पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । एक सय मिटर दौडमा पुरुषतर्फ भुवन महतो पहिलो, विज्ञान चौधरी दोस्रो र शुक्र कुमाल तेस्रो भएका छन् भने महिला तर्फ सञ्जु कुमाल पहिलो, जस्ना महतो दोस्रो र सरस्वती कुमाल तेस्रो भएका छन् । त्यस्तै, लङजम्पमा पुरुष तर्फ भुवन महतो पहिलो, जस्मन महतो दोस्रो र उपेन्द्र खत्री तेस्रो भएका छन् भने महिला तर्फ सञ्जु कुमाल पहिलो, मनिका महतो दोस्रो र जस्ना महतो तेस्रो भएका छन् ।
त्यसैगरी, सर्टपुटमा पुरुषतर्फ यमनारायण महतो पहिलो, भुवन महतो दोस्रो र लक्ष्मण ओली तेस्रो भएका छने भने महिला तर्फ मोनिका महतो पहिलो, जस्ना महतो दास्रो र जिया गुरुङ तेस्रो भएका छन् । महिला तथा पुरुषको एक सय मिटरको दौड, लङजम्प र सर्टपुटमा पहिलो हुने खेलाडीले पाँच हजार, दोस्रो हुने खेलाडीले तीन हजार र तेस्रो हुने खेलाडीले दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।